Logo

संसदीय व्यवस्थाका विकृति हटाउन आवश्यक



काठमाडौँ, १६ असार । संसदीय व्यवस्थालाई अझ बलियो र उत्कृष्ट व्यवस्थाका रुपमा विकास गर्नुपर्ने आवश्यकतामाथि सहभागी वक्ताले जोड दिएका छन् ।

पूर्व सांसद मञ्चले ५९ आँै संसद् दिवसका अवसरमा आज यहाँ आयोजना गरेको एक कार्यक्रममा उहाँहरुले संसदीय व्यवस्थाका विकृति हटाई यसलाई बलियो र उत्कृष्ट व्यवस्थाका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका हुन् ।

सो अवसरमा उपसभामुख गङ्गाप्रसाद यादवले संसदीय व्यवस्था विश्वकै सबैभन्दा उत्तम व्यवस्था भएको बताउनुभयो ।

यो व्यवस्थालाई नेपालको सन्दर्भमा सरकार बनाउने र ढलाउने खेलका रुपमा विकृत नबनाउन खोजिएको बताउँदै उहाँले यसतर्फ पूर्वसांसद मञ्चले मार्गदर्शन गर्नसक्नु पर्दछ भन्नुभयो ।

गृहमन्त्री जनार्दन शर्माले स्थानीय तहको निर्वाचनमार्फत सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको भन्दै अब विकास र राष्ट्रिय समृद्धिको अभियानमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

अहिले देश समयसापेक्ष नयाँ नियम, कानुन बनाउने दिशामा अग्रसर रहेकाले यस्तो समयमा पूर्व सांसदहरुको राय, सुझाव वर्तमान संसद्का लागि महत्वपूर्ण हुने बताउँदै उहाँले यसमा मञ्च सक्रिय भएर लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

गृहमन्त्री शर्माले पूर्वसांसदहरुलाई मर्यादाक्रममा नराखिएको विषयमा आफूले जानकारी पाएपछि त्यसबारे सम्बन्धित निकायलाई सच्याउनका लागि पहल गर्न निर्देशन दिइसकेको जानकारी दिनुभयो ।

पूर्वसभामुख तारानाथ रानाभाटले संसदीय व्यवस्थालाई बलियो बनाउन स्वयम् दलहरु बढी संवेदनशील बन्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक चिनकाजी श्रेष्ठ, नेकपा (एमाले)का संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकाल र नेकपा (माओवादी केन्द्र) संसदीय दलका सचिव रामनारायण बिडारीले पूर्व सांसदहरुलाई सेवा सुविधा दिनुपर्ने, मर्यादाक्रम तोकिनुपर्नेलगायतका विषयमा आफूहरुले पहल गर्ने बताउनुुभयो ।

मञ्चका कार्यबाहक अध्यक्ष झलकनाथ वाग्लेले पूर्वसांसदहरुको मर्यादाक्रम निर्धारण, सेवासुविधालगायतका विषयमा सरकारले ध्यान दिनुपर्ने माग राख्नुभयो ।

नेपालमा विसं २०१५ साल फागुनमा भएको पहिलो आमनिर्वाचनबाट निर्वाचित सांसदहरु चार महिनापछि असार १६ गतेमात्रै संसद्मा प्रवेश गरेको दिनको सम्झनामा असार १६ गतेलाई संसद् दिवसका रुपमा मनाइन्छ । रासस



प्रतिक्रिया दिनुहोस्