Logo

परराष्ट्रमन्त्री महरा भोलि भारत जाँदै, मोदीसँग भेट नहुने !



काठमाडौं, १७ असार । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा आइतबार अर्थात् भोलि दुई दिने भ्रमणको लागि भारत जाँदैछन् ।

उनले असार १८ देखि २० गतेसम्म भारत भ्रमण गर्ने भएका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार भारतका विदेशमन्त्री सुष्मा स्वराजको निमन्त्रणामा मन्त्री महरा भारत जान लागेका हुन् ।
भ्रमणका क्रममा उनले भारतका विदेशमन्त्री स्वराजसँग भेटी द्विपक्षीय हितबारे विचार आदानप्रदान गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

भारतसँगको कुटनीतिक सम्बन्ध विस्तार र संयुक्त राष्ट्र संघको मानव अधिकार काउन्सिल सदस्यमा नेपालले दिएको उम्मेदवारीको पक्षमा समर्थन जुटाउन उनी भारत भ्रमणमा भोलि निस्किन लागेका हुन् ।

भारतमा रहँदा मन्त्री महराले उनका समकक्षी स्वराजबाहेक अन्य उच्चपदस्थ भारतीय अधिकारीहरुसँग भेट्ने कुनै कार्यक्रम नरहेको समेत मन्त्री महरा निकट स्रोतले जानकारी दियो । महराको भारत भ्रमणको हल्ला चलिरहेको बेला उनले भारतमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेट्ने कार्यक्रम रहेको भनेर प्रचार गरिएको थियो । तर, मन्त्री महरा निकट स्रोतका अनुसार महराको पहिलो भारत भ्रमणमा यस्तो किसिमको उच्चस्तरीय भेटवार्ताको कुनै कार्यक्रमहरु छैन् ।

युएनको मानव अधिकार परिषद सदस्यमा नेपालले दिएको उम्मेद्ववारीमा समर्थन जुटाउनको लागि भारतस्थित् विभिन्न राष्ट्रका राजदुत तथा स्थायी प्रतिनिधिहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

भारत भ्रमणमा जानुअघि मन्त्री महराले हिजोमात्रै प्रधानमन्त्री शेरबहादुर देउवासँग भ्रमणको बारेमा छलफल गरेका थिए । उनले भारतले प्रधानमन्त्री देउवाको भारत भ्रमणको तयारी गरेको भन्ने कुरा बाहिर आएकोबारेमा पनि कुरा राखेका थिए ।

यता प्रधानमन्त्री देउवाले भारतले औपचारिक रुपमा आफूलाई भ्रमणको निम्तो दिए आफू तयारी अवस्थामा रहेको समेत मन्त्री महरालाई जानकारी गराएका थिए ।

पछिल्लो समय मन्त्री महराले भारत र चीनसँग समदुरी कायम गरेर नेपालको द्धिपक्षीय सम्बन्धलाई अघि बढाउनेगरि तयारी थालेका छन् । उनको योजना छ छिमेकीहरुसँग आर्थिक तथा कुटनीतिक रुपमा समदुरीको सम्बन्ध राख्ने ।

 



प्रतिक्रिया दिनुहोस्