Logo

देउवा–प्रचण्ड आकस्मिक बैठकमा, एमालेबिनै संशोधन प्रस्ताव पास गरेर देखाइदिने



काठमाडौं, १८ असार । दोस्रो चरणको स्थानीय तहको निर्वाचनको धमाधम मतपरिणाम सार्वजनिक भैरहेको अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले आन्तरिक छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार दुई नेताहरुवीच पछिल्लो समय लगातार आन्तरिक छलफलहरु भैरहेका छन् । असोज २ गते हुने प्रदेश नम्बर २ को निर्वाचन अघि नै संविधान संशोधनको लागि एक पटक पहल गर्नेगरि कांग्रेस र माओवादी केन्द्र आन्तरिक तयारीमा जुटेका छन् ।

स्रोतले भन्यो,‘प्रदेश नम्बर २ को निर्वाचन गर्नुभन्दा पहिले एकचोटी संविधान संशोधनको लागि पहल गर्ने प्रधानमन्त्रीको तयारी छ, त्यसको लागि उहाँले अहिले सत्तारुढ दलका शीर्ष नेताहरुसँग छलफल गरिरहुनभएको छ।’

सत्तारुढ दलले संशोधनमा सहयोग पुर्याउनको लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई यसअघि पनि पटक पटक आग्रह गर्दै आएको छ । तर, एमालेले अहिलेसम्मपनि यसबारेमा कुनै सहमति जनाएको छैन । तर यो पटक सत्तारुढ दलले तेस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपुर्व नै अन्तिम पटक एमालेलाई आग्रह गर्ने सोच बनाएका छन् ।

यदि एमाले आएन भने पनि उबिनै दुई तिहाई जुटाउन पहल गर्ने प्रधानमन्त्री देउवाको भित्री तयारी रहेको छ । त्यस्तै सरकारले अब हुने निर्वाचनको लागि क्यालेण्डरपनि सार्वजनिक गर्ने तयारी गरेको छ । जसअनुसार असोज १५ देखि २५ सम्म प्रदेशको, दशैंपछि राष्ट्रिय सभाको र मंसिरमा केन्द्रिय संसदको चुनाव गर्ने सरकारको तयारी छ ।

हिमालय टेलिभिजनमा आज राति प्रशारण हुने कार्यक्रम धमलाको हमलामा पत्रकार ऋषि धमलासँगको कुराकानीमा गृहमन्त्री जनार्दन शर्माले पनि सरकारले छिट्टै ती वटै चरणको निर्वाचनको मिति सार्वजनिक गर्ने जानकारी दिए । त्यस्तै उनले निर्वाचनको लागि चाहिने दुई वटा अत्यावश्यक विद्येयक समेत अनुमोदन गराउने बताए ।

 



प्रतिक्रिया दिनुहोस्