Logo

एक/दुई दिनभित्रै सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं : मनिष सुमन



काठमाडौं, १९ असार । राजपा नेपालका प्रभावशाली नेता मनिष सुमनले सरकारलाई दिएको समर्थन एक दुई दिनभित्रै फिर्ता लिने र एमालेसँग सम्बन्ध विस्तार गर्ने स्पष्ट पारेका छन ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सुमनले भने,‘एमाले अहिले सुध्रिएको छ, राजपा र एमालेवीच अब सम्बन्ध सुधारको लागि पहल भैरहेको छ।’ सुमनले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको समर्थन आफूहरुले लिनेबारे आन्तरिक छलफल सुरु गरिसकेकोले एक दुई दिनभित्रै निर्णय लिने सार्वजनिक गरे ।

उनले राजपा नेपालसँगकै सहमतिमा निर्वाचन सारिएको भनेर प्रधानमन्त्री देउवाले दिएको अभिव्यक्तिलाई गलत र मिथ्याको संज्ञा दिए । उनले भने,‘देउवाजीले भनेको कुरा गलत हो, के उनी हाम्रा प्रवक्ता हुन र ?’ उनले देउवालाई प्रधानमन्त्री हुन ल्याकत नभएको व्यक्ति भनेर टिप्पणी गरे । उनले एमाले सुध्रिएको भन्दै साधुवाद टक्र्याए । उनले देउवाका पछिल्ला अभिव्यक्ति र कुराहरु सुन्दा उनी हाँस्यकलाकार भएको बताए ।

यद्धपी उनले संविधान संशोधनको लागि एमाले ब्रम्हा, विष्णु, महेश नभएको समेत जिकिर गरे । उनले संविधान संशोधनको लागि वर्तमान सत्तारुढ दलले चाहेको भए धेरै अघि नै संशोधन पारित हुने थियो भन्दै चिन्ता व्यक्त गरे । उनले भने,‘एमालेपनि मत प्रक्रियामा सहभागी बनोस्, सदनको साँक्षी किनारा बनोस् भन्ने हाम्रो चाहना हो।’

उनले हालै सम्पन्न भएका स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन जबरजस्ती गरिएको भन्दै यस्तो निर्वाचनको कुनै अर्थ नहुने टिप्पणी गरे । उनले भने,‘यो निर्वाचन भनेको क्षणभरको खुशी मात्रै हो।’ सुमनले तेस्रो चरणको निर्वाचनलाई पनि कथित निर्वाचनको रुपमा लिएको बताए ।

उनले ठूला दलहरुले संविधान मस्यौदागर्दा र संविधान जारी गर्दापनि जबरजस्ती गरिएको बताउँदै भने,‘मधेशपनि यो देशकै हो।’ हालै भएका निर्वाचनलाई उनले शाही निर्वाचनको संज्ञा दिए ।



प्रतिक्रिया दिनुहोस्