Logo

ओली–ठाकुर एक्कासी नजिकिए, भोलि लामो भेटवार्ता हुँदै



काठमाडौं, १९ असार । सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरिरहेको राजपा यतिवेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग नजिकिएको छ । राजपा

अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले भोलि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग दुई घण्टा लामो छलफल गर्ने तयारी भएको छ ।

उता राष्ट्रिय जनता पार्टी नेपालभित्र अहिले नै सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्छ र लिनुहुँदैन भन्नेहरुवीच ठूलो भाँडभैलो मच्चिएको छ ।
आफूहरुको माँग पूरा गर्न संविधान संशोधनप्रति सरकार गम्भिर नभएको बरु उल्टै पेलेर स्थानीय तहको निर्वाचन सम्पन्न गरेको भन्दै राजपाले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको समर्थन फिर्ता लिने औपचारिक निर्णय गर्नुपुर्व राजपा शीर्ष नेताहरुवीच नै मतमतान्तर देखिएको छ ।

तर यही वीचमा राजपा र एमालेका युवा नेताहरुवीच दुई दलवीचको सम्बन्ध सुधारको लागि पटक पटक गोप्य भेटवार्ता भैरहेका छन् । एमालेबाट युवा नेता रविन्द्र अधिकारीले नेतृत्व गरिरहेका छन् भने राजपा नेपालबाट नेता मनिष सुमनले नेतृत्व गरिरहेका छन् । यी दुई नेताहरुको मध्यस्थतामा एमाले र राजपावीचको सम्बन्ध सुधारका प्रयासहरु भैरहेका छन् ।

नेता अधिकारीका अनुसार भोलि अपरान्ह राजपा नेपालका संयोजक महन्थ ठाकुर र आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीवीच भेटवार्ता तय भएको छ।
राजपा निकट उच्च स्रोतका अनुसार अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्यहरु राजेन्द्र महतो लगायतका नेताहरु तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने पक्षमा उभिएका छन् ।

फिर्ता लिनुहुँदैन भन्नेमा नेताहरु शरदसिंह भण्डारी, महेन्द्र राय यादव र अनिल झा देखिएका छन् । उनीहरुले सरकारलाई दिएको समर्थन पार्टीले फिर्ता लिए ठिक नहुने भन्दै संयोजक ठाकुरलाई भेटेरै चेतावनी दिएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot