Logo

धनगढी उपमहानगरपालिकाको गणना सुरु



कैलाली, १९ असार । मुचुल्काको विवाद विषयलाई लिएर आइतबारदेखि स्थगित धनगढी उपमहानगरपालिकाको मतगणना आज अपराह्नदेखि सुरु भएको छ ।

धनगढी–१७ को मतगणना सुरु गर्ने क्रममा एउटा बुथमा मुचुल्काभन्दा तीन मतपत्र बढी भेटिएपछि विवाद सुरु भएको उपमहानगरपालिकाको मतगणनाको सुरु गर्न पटक पटक बसेको सर्वदलीय बैठकले कुनै निर्णय निकाल्न नसके पनि आज बिहानको बैठकमा सहमति भएपछि मतगणनाको काम अगाडि बढेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सिलबन्दी गरिसकिएको मुचुल्का खोल्ने अधिकार आफ्नो नभएको भन्दै मुख्य निर्वाचन अधिकृतले केन्द्रमा पठाएको पत्र आउँदै गर्ने र त्यस समयमा मतगणना गर्ने तथा मत परिणाम दुई दुई घन्टामा सार्वजनिक गर्ने सहमति सर्वदलीय बैठकले गरेको छ । यसअघि पनि हातले जोडिएको मतगणनाको मत परिणाम र कम्प्युटरमा जोडिएको मत परिणाम फरक परेपछि दलहरुले बहिष्कार गर्दा मतगणना रोकिएको थियो ।

उपमहानगरपालिकामा खसेको जम्मा मतमध्ये हालसम्म १४ हजार ९२ मतगणना भएको छ । सोमध्ये नेपाली काँग्रेसले प्रमुखमा तीन हजार ७६१ र उपप्रमुखमा चार हजार ३४२, प्रमुखमा स्वतन्त्र उम्मेदवारले तीन हजार २९७, नेकपा(एमाले)ले प्रमुखमा तीन हजार ४३ र उपप्रमुखमा तीन हजार ८१० तथा नेकपा(माओवादी) केन्द्रले प्रमुखमा एक हजार ८१४ र उपप्रमुखमा दुई हजार ४४७ मत प्राप्त गरेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्