Logo

चुनाव सम्पन्न भएकोमा भारत खुशी छ, भ्रमण अत्यन्तै सफल भयो : उपप्रधानमन्त्री महरा



काठमाडौं, २० असार । उपप्रधान एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपालमा हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनकोबारे बधाई दिएको बताएका छन् ।

तीन दिने भारत भ्रमण सकाएर आज स्वदेश फर्किएका मन्त्री महराले नेपालमा हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनले संविधान कार्यान्वयननको ढोका खुलेको भनेर भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आफूसँगको भेटवार्तामा प्रतिक्रिया दिएको जनाए । त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री महराले भने,‘अत्यन्तै सौहार्दपूण वातावरणमा कुराकानी भयो, उहाँले नेपालमा हालै सम्पन्न भएको चुनावको बारेमा खुशी र बधाई दिनुभयो।’

महरा आफ्ना भारतीय समकक्षी सुष्मा स्वराजको निमन्त्रणामा भारतको तीन दिवसीय भ्रमणमा आइतबार भारत गएका थिए । भ्रमणका क्रममा उनले बाह्य मामिलामन्त्री स्वराजसँग पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श गरेको समेत जानकारी दिए ।

नयाँदिल्लीमा रहँदा उपप्रधानमन्त्री महराले नेपालका लागि विभिन्न मुलुकका गैरआवासीय राजदूतसँग सामूहिक भेट गरी राष्ट्रसङ्घीय मानवअधिकार परिषद् सदस्यमा नेपालको उम्मेदवारीबारे जानकारी गराउनाका साथै नेपाललाई समर्थन गर्न उनीहरुसँग अनुरोध गरेको पनि जानकारी दिए ।

मन्त्री महरा नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्रसङ्घ महाशाखा प्रमुख भरतराज पौड्याल, भारत महाशाखा प्रमुख भृगु ढुङ्गानालगायत सहभागी थिए ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपाल र भारतबीच सदियौँदेखि रहँदै आएको मैत्रीपूर्ण एवम् बहुआयामिक सम्बन्ध थप सुदृढ भएको बताए ।
छिमेकी मुलुक भारतको औपचारिक भ्रमण सकेर आज नेपाल फर्किएलगत्तै त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको विशिष्ठ कक्षमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने,“मेरो भारत भ्रमणले नेपाल–भारतबीचको बहुआयामिक सम्बन्ध थप सुदृढ तुल्याउन मद्दत पुगेको छ ।”

उपप्रधानमन्त्री महराले यो भ्रमणले दुई मुलुकबीच आर्थिक–सामाजिक विकास तथा पूर्वाधार निर्माणसम्बन्धी सम्झौता एवम् सहमतिलगायत हाल चालु परियोजनाको समयबद्ध रुपमा सफल कार्यान्वयन गर्न तथा सहयोगका नयाँ क्षेत्रको पहिचान गर्नेतर्फ महत्वपूर्ण योगदान पुगेको विश्वास व्यक्त गरे ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराजको मैत्रीपूर्ण निमन्त्रणमा यही असार १९ देखि २० गतेसम्म परराष्ट्रमन्त्री महराले भारत भ्रमण गरेका थिए ।

भारतीय विदेशमन्त्री स्वराजसँग भएको भेटबारे जानकारी दिँदै उनले नेपाल–भारतसम्बन्धका सबै पक्ष र विषयमा विचार आदान प्रदान भएको बताए ।
परराष्ट्रमन्त्री महराले प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणको मिति आपसी छलफलबाट तोकिने जानकारी दिँदै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को शिखर सम्मेलन गर्ने विषयमा भारत सकारात्मक रहेको बताए ।

उनले भने,“दुई मुलुकबीच उच्च तहमा भएका भ्रमणको आदान–प्रदानले आपसी सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुगेको आफूलाई महसुस भएको छ ।”
परराष्ट्रमन्त्री महराले भ्रमणले भारतीय सहयोगमा सञ्चालित विभिन्न विकास–परियोजना कार्यान्वयनलाई थप गति दिने, व्यापार–असन्तुलनलाई कम गर्ने, नेपालको निर्यात बढाउने लगायतका आपसी विश्वास तथा मैत्री सम्बन्धलाई प्रगाढ पार्न सहयोग पुगेको बताए ।

भ्रमणका क्रममा नेपालका लागि सहप्रमाणीकृत नियोग प्रमुखसँग भएको अन्तरक्रियाबाट मुलुकको शान्ति तथा विकास प्रयासमा सबैको सद्भाव हासिल हुने विश्वास लिएको छु उनले भने ।

परराष्ट्रमन्त्री महराले गैरआवासीय राजदूतसँगको बैठकमा आफूले संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्मा नेपालको उम्मेदवारीका साथै मानव अधिकारको संरक्षण र प्रवद्र्धनका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिका विषयमा जानकारी गराएको बताए ।

उक्त बैठकमा ३७ राष्ट्रका गैरआवासीय नियोग प्रमुखहरुको सहभागिता थियो । मन्त्री महराका अनुसार ती सबै नियोग प्रमुखले नेपालप्रति सद्भाव दर्शाउनाका साथै विगत ११ वर्षदेखि भएको सामाजिक–राजनीतिक रुपान्तरणप्रति चासो लिएका थिए ।

उनले बैठकमार्फत आफूले नेपालको परराष्ट्र नीतिको दिशा र अभीष्टबारे अवगत गराउनुका साथै सबैको सद्भाव हासिल गर्न प्रयास गरेको बताए ।
नेपालको सामाजिक–राजनीतिक रुपान्तरणमा सबै मुलुकले चासो र उत्सुकता देखाएको छ, मन्त्री महराले भने, “ती सबै मुलुकसँगको सम्बन्धलाई हामीले उच्च महत्व दिइआएका छौँ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot