Logo

२ नम्बर प्रदेशको चुनावका लागि एमाले मधेशप्रति लचक देखिएको हो : मनिष सुमन



राष्ट्रिय जनता पार्टी नेपालका प्रभावशाली नेता मनिष सुमनले संविधान संशोधन नभएसम्म निर्वाचनमा भाग नलिने अडान दोहोर्याएका छन् । उनले वर्तमान सत्तापक्षसँग संविधान संशोधनको लागि चाहिने दुइृ तिहाई मत रहेको तर सरकारले संशोधनको लागि गम्भिरता नदेखाएको आरोप समेत लगाएका छन् । त्यस्तै उनले प्रमुख प्रतिपक्षी दल पछिल्लो समय लचक बन्नुलाई असोज २ गते हुने प्रदेश नम्बर २ को निर्वाचनको लागि एमालेले यस्तो गरिरहेको समेत आरोप लगाए । यीनै विषयमा केन्द्रित रहेर पत्रकार ऋषि धमलाले नेता सुमनसँग नेपाली रेडियो नेटवर्कको नियमित कार्यक्रम नेपाली बहसका लागि गरेको कुराकानीको सम्पादित अंश :

राष्ट्रिय जनता पार्टी चुनावमा सहभागि हुन रणनीतिमा हो ?

हामी निर्वाचनमा भाग लिन चाहन्छाँै । पहिलो र दोस्रो चरणमा पनि भाग लिने इच्छा जाहेर गरेकै थियौँ । निर्वाचनका लागि हामीले दैनिक कामहरु गरिरहेका छौँ । तर अहिले भइरहेको भनिएको निर्वाचनलाई हामीले निर्वाचनको रुपमा लिएकै छैनौँ । नेपालको संविधान २०७२ को जबरजस्ती कार्यान्वयन गर्न खोजिएको मात्रै हो । संविधान संशोधन नभएसम्म चुनावमा भाग लिन सकिदैन ।

सरकारले त दुई तिहाई मत पु¥याउन नसकेर संविधान संशोधन नगरेको हो । यो थाहा हुँदा हुँदै किन सरकारलाई दोष देखाउनुहुन्छ ?

सरकारसँग स्पष्ट दुई तिहाई मत छ । ३ सय ८८ मत त प्रधानमन्त्रीले पाउनुभएकै हो । संविधान संशोधनका लागि अब केवल ५ मत मात्र नपुगेको हो । प्रधानमन्त्री निर्वाचित हुँदा केही सत्तापक्षकै सासंद सहभागि थिएनन्, अर्थात काठमाण्डौ बाहिर थिए । ति सबै सासंदलाई सहभागि गराउने हो भने संविधान संशोधनका लागि आवश्यक मत पुग्छ । तर प्रधानमन्त्री तथा सरकारले इच्छाशक्ति नै देखाएको छैन । नेकपा एमाले समेत हामीले उठाएका मागप्रति सकारात्मक बनेको छ । गत जेठ ३१ गते निर्णय नै गरेर राजपाले उठाएका मागप्रति सकारात्मक भएको उल्लेख गरेको छ । पछिल्लो समय एमालेका नेताहरु मधेशप्रति सकारात्मक बन्दै गएका छन् । तर २ नम्बर प्रदेशमा चुनाव लड्नका लागि पनि एमाले मधेशप्रति लचक देखिएको हो ।

अब प्रदेश नम्बर २ को चुनावसहित प्रदेश र संसदको चुनावमा समेत भाग लिनुहुन्न त ?

तीनवटा दल मिलेर बनाएको संविधान र उक्त संविधान अनुसार गरिएको निर्वाचनले निकास दिनै सक्दैन । संविधान र निर्वाचन दुवैले मधेशलाई समेट्न सकेको छैन । तीनै तहको निर्वाचन संविधान कार्यान्वयनो पाटो त हो । तर संविधान नै अपूरो छ भने निर्वाचन कसरी पूर्ण हुन्छ ? मुलुकको एक प्रमुख शक्ति राष्ट्रिय जनता पार्टी सहभागि नभएको निर्वाचनले संविधान कार्यान्वयनको बाटोमा लैजान सक्दैन । यो निर्वाचन त तिब्बतमा हुने गरेको दलाई लामाको निर्वाचनभन्दा माथि उठ्न सक्दैन । अर्थात बंगलादेशमा प्रतिपक्षले बहिष्कार गरेको निर्वाचन जस्तै हो ।

मधेशका ठूला शक्ति भनिएका उपेन्द्र यादव र विजयकुमार गच्छादारले नेतृत्व गरेको पार्टी त सहभागि छन् नि ?

उपेन्द्र यादव पछिल्लो समय कस्तो स्थितीमा कसरी निर्वाचनमा भाग लिनुभयो सबैलाई थाहा छ । यो संविधान पुनः लेखन गर्नुपर्छ भन्ने उपेन्द्र यादव रहस्यमय तरिकाले चुनावमा जानुभयो । तर निर्वाचनमा भाग लिने मधेशी दलहरुले लोप्पा खाए । जसको प्रलोभनमा उपेन्द्र यादवहरु निर्वाचनमा जानुभयो, ती प्रलोभन देखाउनेहरुले मात्रै उनीहरुलाई निर्वाचनमा भाग लिएको भनेर प्रशंसा गरिरहेका छन् । तर मधेशमा भूमिपुत्रहरु आक्रोषित बनेका छन् । किनकी यो निर्वाचन होइन, निर्वाचनको नौटङ्की मात्रै हो ।

सरकार र प्रमुख प्रतिपक्ष एमाले पनि अहिले संविधान संशोधनको पक्षमा देखिएको छ । पछिल्लो समय राजपा र एमालेको सम्बन्ध नजिक भएको हो ?

राष्ट्रिय जनता पार्टी नेपाल सहमति र छलफलकै आधारमा अघि बढ्न र संविधान संशोधन गर्न चाहन्छ । सिङ्गो मधेशलाई वेवास्ता गरेर संविधानको मस्यौदा तयार, संविधान जारी र संविधानको कार्यान्वयन गर्न खोजिएको छ । तर हामीले कुनै पनि दलसँग दुरी बढाउन खोजेका छैनौँ । एमालेसँगको सम्बन्धको कुरा गर्ने हो भने पछिल्ला दिनमा एमालेका नेताहरुले मधेशका जनतालाई काले, धोती, आँप जस्ता कुरा भन्न छोडेका छन् । उनीहरुले आत्मालोचना पनि गरेका छन् । संविधान संशोधनका विषयमा पनि सकारात्मक देखिएको छ ।

अब नेकपा एमालेसँग औपचारिक वार्ता कहिले हुन्छ ?

हामी नेकपा एमालेसँग समस्या समाधानका विषयमा वार्ता त गछौँ । तर कहिले गर्ने भन्ने मिति नै तय भएको छैन । म आफैँले महन्थ ठाकुर र केपी ओलीबिच वार्ता गराउनका लागि पहल गरिरहेको छु । एमालेको तर्फबाट पनि केही नेताहरुले पहल गरिरहनु भएको छ । अब २ दिन भित्रमा नै एमाले र राजपाबिचको संवादहिनता अन्त्य हुन्छ ।

सरकारसँगको सम्बन्ध चाँही कस्तो छ अहिले ?

सरकरसँग सम्वादको क्रम जारी छ । मंगलबार मात्रै पनि महन्थ ठाकुर र प्रधानमन्त्री शेरबहादुर देउवाबिच भेटवार्ता भयो । भेटका क्रममा प्रधानमन्त्रीको निर्वाचनअघि भएको तीन बुँदै सम्झौताको कार्यान्वयनको कुरा उठाइएको छ । सम्झौता कार्यान्वयन नगरिएकोप्रति हामीले आपत्ति प्रकट गरेका छौँ । सरकारसँगको सम्बन्ध अर्थात सरकारलाई दिएको समर्थन कायम राख्न नसक्ने कुरा पनि अवगत गराएका छौँ ।

अब सरकारलाई दिएको समर्थन फिर्ता लिनुहुन्छ ?

हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौँ । यसको औपचारिक निर्णय २ दिन भित्रमा गछौँ ।

दल दर्ता गर्ने कुरा के हुँदैछ ?

अहिले हामी दल दर्ताको प्रक्रियामा छाँै । घोषणापत्र, विधान, कार्यसमितिको नामावली, पार्टीको लोगो, झण्डा, छाप लगायतका कुार जुटाइरहेका छौँ । सम्भवत आज नै हामी निर्वाचन कार्यालय गएर दल दर्ता गछौँ ।



प्रतिक्रिया दिनुहोस्