Logo

रासस बिनाको नेपाल कल्पना गर्न सकिन्न : सञ्चार सचिव



काठमाडौँ, २१ असार । राष्ट्रिय समाचार समिति (रासस) का पत्रकारहरुलाई अभिमुखीकरण गर्नका लागि चारदिने ‘रासस पत्रकारिता तालिम’ आजदेखि सुरु भएको छ ।

रासस परिसरमा सुरु भएको तालिमको सूचना तथा सञ्चार सचिव महेन्द्रमान गुरुङले उद्घाटन गर्दै राससको सेवालाई थप व्यावसायिक, विश्वसनीय र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

“रासस बिनाको नेपाल कल्पना गर्न सकिन्न, देशको आवश्यकताअनुरुप नै यो सञ्चालित छ, यसलाई आधुनिक पूर्वाधारयुक्त, स्रोतसाधनसम्पन्न गरी सेवालाई सबलीकरण गर्नु जरुरी छ”, सचिव गुरुङले भन्नुभयो ।

आधुनिक सूचना प्रविधिले फड्को मारिरहेको अवस्थामा रासस समाचार सेवालाई आफ्ना सेवाग्राहीलाई ध्यानमा राखेर समाचार उत्पादन गर्नुपर्ने उल्लेख गर्दै उहाँले राससको सेवालाई ग्राहकमैत्री बनाउने प्रणालीको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

सचिव गुरुङले राससलाई अझ व्यावसायिक बनाउन सरकारले सक्दो सहयोग गर्ने र त्यसका लागि व्यावसायिक योजना निर्माण गर्न राससलाई आग्रह गर्नुभयो ।

राससका अध्यक्ष कूलचन्द्र वाग्लेले राससको सेवालाई निष्पक्ष, व्यावसायिक र विश्वसनीय बनाउन सदा प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले राससको अहिलेको कार्यशैलीमा सुधार गरी प्रविधिमैत्री बनाउन संस्था लागिपरेको र सोही अनुसार सरकारसँग सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

राससका महाप्रबन्धक ओपेन्द्र शर्माले राससको सेवालाई गुणस्तरीय बनाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा थप विस्तार गर्ने तयारी रहेको बताउनुभयो ।
राससको महत्वलाई बुझेर आधुनिक प्रविधिमैत्री बनाई यसको छुट्टै पहिचानको विकास गर्नुपर्ने जरुरी छ भन्नुभयो ।

चारदिने पत्रकारिता तालिममा प्राध्यापक तथा राससका पूर्वअध्यक्ष पी खरेल, प्रा. रामकृष्ण रेग्मी, पत्रकार मोहन मैनाली, भाषा अभियन्ता डा बलदेव अधिकारी, पत्रकार गुणराज लुइँटेल, राससका पूर्वमहाप्रबन्धक श्रीरामसिंह बस्नेत, पत्रकार धर्म भूसाललगायतले प्रशिक्षण दिनुहुनेछ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot