Logo

महेन्द्र यादवको सनसनीपूर्ण खुलासा : सामूहिक निर्णय भत्किएको दिन राजपा ध्वस्त हुन्छ



राष्टिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले पार्टीको विधान अझैसम्म टुँगो नलागेको कारण दल दर्ता हुन नसकेको बताएका छन् । उनले पार्टीभित्र सामुहिक निर्णय र चक्रिय प्रणाली भत्किएको दिन राजपा ध्वस्त हुने बताएका छन् । यीनै विषयमा केन्द्रित रहेर पत्रकार ऋषि धमलाले यादवसँग गरेको कुराकानीको सम्पादित अंश :

दल दर्ता गर्ने कुरा थियो । गर्नुभएको छैन । हलो कहाँ अड्कियो ?

हामी छलफलकै क्रममा छाँै । पार्टीको विधानको विषयमा टुंगो लागेको छैन । त्यसैले गम्भीर छलफल गरिरहेका छौँ ।

गम्भीर छलफल गरेको त तीन दिन भइसक्यो । अझै टुंगो किन लाग्न सकेन ?

नेपालको संविधान बनाउन त ८ वर्ष लाग्यो । ६ वटा पार्टीको मुल्य र मान्यता समेटेर तीन दिनमा विधान कसरी बन्छ ?

गजेन्द्रनारायण सिंहको नाम राख्ने वा नराख्ने भन्ने विवादले गर्दा हलो अड्किएको चर्चा छ नि ?

गजेन्द्रनारायण सिंहको नाममा मात्रै कुरा नमिलेको होइन । छलफल भएका धेरै कुरा छन् । त्यस्तो खास विवाद केही पनि छैन । छलफलकै क्रममा छौँ । यसलाई विवाद भन्न मिल्दैन ।

राजपा विवादमा फेसेको छ भन्ने सन्देश गएको हो ?

६ वटा पार्टी मिलेर बनेको दलमा सबै कुरामा एकमत हुन्छ भनेर बुझ्नु भएन । हाम्रो दल भनको नेपालकै वैकल्पिक दल हो । बलियो र सबै नेपाली जनताको भावना समेट्ने दल निर्माणमा लागेका छौँ । त्यसैले हाम्रा छलफल र बैठक लम्बिनु समान्य कुरा हो ।

हृदयश त्रिपाठीले त धेरै कुरामा विमति जनाउनुभएको छ नि ?

छलफलका क्रममा सबैले आफ्नो विचार राख्ने हो । सबैको बिचार मिल्छ भन्ने छैन । सबैको विचार मिलेपछि त छलफल र बहसको आवश्यकता नै पर्दैन ।

मर्यादाक्रमका विषयमा किन विवाद भइरहेको छ ?

मर्यादाक्रममा विवाद नै छैन । हामी सबै अध्यक्षमण्डलको रुपमा रहेका छौँ । सर्वसम्मत निर्णय गर्ने र चक्रिया प्रणालीमा जाने नीति लिएका छौँ । अध्यक्षमण्डलका सबै नेता बराबर छन् । सामुहिक निर्णय र चक्रिय प्रणाली भत्किएको दिन राजपा ध्वस्त हुन्छ ।

तर नेतृत्व चक्रिय प्रणालीमा गर्ने भने पनि त्यस्तो देखिएको छैन । २–२ महिनामा नेतृत्व फेर्ने भनिए पनि महन्थ ठाकुर किन फेरिनुभएको छैन ?

नेतृत्व हरेक दुई महिनामा फेर्ने भनिए पनि आपसी समझदारीको कुरा पनि हुन्छ । सबै मिलेर काम गरिरहेका छौँ । बैठकको निर्णयका हकमा सबै सदस्यको बराबर हिस्सा हुन्छ । अध्यक्षमण्डलको नेतृत्वकर्ताले त बैठकको अध्यक्षता गर्ने मात्रै हो । अरु सदस्यलाईभन्दा धेरै अधिकार केही पनि छैन । त्यसैले अध्यक्षमण्डलको नेतृत्वका सवालका कुनै समस्या छैन ।

तपाईहरु कहिले दल दर्ता गनुुहुन्छ ?

हामी छलफलकै क्रममा छौँ । विधान र घोषणापत्रको टुंगो लागेपछि दल दर्ता गछौँ ।

त्यसो हो भने प्रदेश नम्बर २ को चुनावका लागि दल दर्ता हुन्छ ?

चुनावका लागि त सरकारले वातावरण बनाउनु जरुरी छ । सरकारले विगतमा पनि वातावरण नबनाएकै कारण चुनावमा जान सकिएन । त्यसैले हामीले उठाएका माग पूरा नभएसम्म त चुनावमा जाँदनाँै ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot