Logo

नेपालको मौलिक पहिचानमा आँच नआउने गरी बैदेशिक लगानी भित्र्याउनु पर्ने : दाहाल



काठमाडौं, २२ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय प्रतिष्ठामा आँच नआउने गरी वैदेशिक लगानी भित्र्याउनु पर्नेमा जोड दिएका छन्। अध्यक्ष दाहालले राजनीतिक स्थिरता भए वैदेशिक लगानीको वातावरण आफैं बन्ने बताए।

बिहीबार काठमाडौंमा आयोजित ‘कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी’ विषयक विचार गोष्ठीमा बोल्दै उनले राजनीतिक स्थिरता नहुँदा राष्ट्रिय पूँजीसमेत आफै पलायन हुने गरेको दृष्टान्त पनि पेश गरे।

दाहालले आन्दोलन, बन्द, हडताल, द्वन्द्वको अवस्था रहे स्वदेशी पुँजी परिचालन गर्न पनि कठिनाई हुने गरेको उल्लेख गरे। उनले नेपाली जनताको स्वतन्त्रता, आत्मसम्मान र नेपालको मौलिक पहिचानमा आँच नआउने गरी बैदेशिक लगानी भित्र्याउनु पर्ने बताए।

अध्यक्ष दाहालले बैदेशिक लगानी नभित्र्याई मुलुकको विकासको गतिलाई तीव्रता दिन नसकिने उल्लेख गरे। उनले मुलुकलाई आत्मनिर्भर बनाउने गरी काम अघि बढाए मात्रै बैदेशिक लगानीले राष्ट्रको हित गर्ने पनि उल्लेख गरे।

अध्यक्ष दाहालले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन भ्रष्टाचारको अन्त्य हुनुपर्ने पनि बताए। कार्यक्रममा विज्ञहरुले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन राजनीतिक स्थिरता, लगानी मैत्री नीतिगत व्यवस्था र पूर्वाधार विकासमा जोड दिनुपर्ने धारणा राखेका थिए।



प्रतिक्रिया दिनुहोस्