Logo

कमल थापाद्धारा पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सव बहिष्कार !



काठमाडौं, २३ असार । पूर्वराजा ज्ञानेन्द्र शाहले आज आफ्नो ७१ औं जन्मदिन धुमधाम साथ मनाएका छन् । निर्मल निवासमा उनलाई शुभकामना व्यक्त गर्ने सर्वसाधारणको उपस्थिती उल्लेख्य मात्रामा रह्यो ।

जन्मदिनको उपलक्ष्यमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई शुभकामना दिन राप्रपा नेपालकी नेतृ कोमल वली पनि देखिइन् । कार्यक्रममा पूर्व युवराज पारस शाह र युवराज्ञी हिमानी शाहका छोरीछोरी हृदयन्द्र शाह, पूर्णिका शाहलगायत परिवारका अन्य सदस्य पनि उपस्थित थिए ।

ज्ञानेन्द्रलाई जन्मदिनको शुभकामना दिन राजावादी नेताहरु समेत निर्मल निवास पुगेका थिए । तर राप्रपाका अध्यक्ष कमल थापा भने आज देखिएनन् । पछिल्लो समय पूर्वराजा शाह र थापावीच समुधुर सम्बन्ध नरहेको बुझिएको छ । स्रोतका अनुसार थापाले पूर्वराजाको जन्मदिन बहिष्कार नै गरेका हुन् । हुन त उनी निकट स्रोतले थापा विरामी रहेको दाबी गरेपनि उनी जानीजानी नगएको बुझिएको हो ।

बरु जन्मोत्सवमा हालै राप्रपा छोडेर नयाँ पार्टी खोलेको डा. प्रकाशचन्द्र लोहनी शुभकामना दिन निर्मल निवास पुगेका थिए । लोहनी र शाहवीच रमाईलो कुराकानी समेत भएको थियो ।

त्यसैबिच, पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो जन्मदिनको अवसरमा भावुक वक्तव्य जारी गरेका छन् । उनले आफ्नो ७१ जन्मोत्सवको अवसरमा शुक्रबार जारी गरेको बक्तव्यमा “नेपाली हामी रहौंला कहां नेपालै नरहे’ भन्ने सुत्र लेख्दै यो सुत्र स्मरण गर्न सवै नेपालीलाई आग्रह गरेका छन् ।

उनले जन्मदिनको उपलक्ष्यमा आफुलाई शूभेच्छा प्रकट गर्ने, शूभकामना दिने र आस्था, भरोसा भाव राख्नेलाई हार्दिक आभार व्यक्त गर्दै देश जोगियोस्, जोडियोस् र विग्रह विखण्डनतर्फ नलागी सूदृढ राष्टिय एकतातर्फ अग्रसर रहोस् भन्ने आफ्नो मनोकांक्षा रहेको बताएका छन् । उनले यस्तै भावना आम नेपालीमा र खास गरि राष्ट्रका जिम्मेवार जनप्रतिनिधिहरुमा रहोस् भन्ने आग्रह समेत गरेका छन् ।

शाहले राष्ट्रियता, सार्वभौमिकता र राष्टिय एकता कायम गर्न हामी सबै एक जूट हूनू परेको स्मरण गराउदै हरेक पल्ट देश संकटमा पर्दा देशवासीले देखाउने गरेको अभूतपुर्व एकताका सबै सधैं नै तयार रहनू पर्ने जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्