Logo

हामी प्रस्तावको पक्षमा भोट हाल्न तयार छौं, तर सरकार नै अलमलमा छ : गिरी



काठमाडौं, २४ असार । राप्रपाका नेता दिलनाथ गिरीले संशोधन प्रस्तावको पक्षमा भोट हाल्ने भनेर पार्टीले निर्णय गरिसकेकोले उक्त निर्णय यथावत रहेको स्पष्ट पारे । यद्धपी उनले संविधान जारी गर्दाका प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रवीच संविधान संशोधनमा सहमति खोज्न सुझाए ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता गिरीले सदनमा विचाराधिन रहेको संशोधन प्रस्ताव कर्मकाण्डी र दिर्घकालिन समाधान के को लागि ल्याईएको हो भनेर प्रश्न समेत गरे । उनले भने,‘दिर्घकालिन रुपमा समस्या समाधानको लागि ल्याईएको हो भने तीन दल एक ठाउँमा बसेर छलफल गर्नुपर्छ।’ उनले मधेशवादी दलहरुलाईपनि संविधानमार्फत स्पेश दिनुपर्ने जिकिर गरे ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले संशोधन विद्येयकको पक्षमा भोट हाल्ने भनेर पार्टीले संस्थागत निर्णय लिएपनि प्रस्ताव पारित गराउनेबारे सत्तापक्ष गम्भिर नबनेको आरोप लगाए । गिरीले भने,‘संशोधन प्रस्ताव पारित गराउने यो सरकार सशक्त रुपमा उभिएको छैन, चौथो ठूलो दल हाम्रो पार्टी जसले संशोधन प्रस्ताव पारित गर्नको लागि प्रतिबद्धता जनाएको छ, तर हामीसँग कुनै सरसल्लाह नै छैन।’

त्यस्तै उनले सरकारमा जाने वा नजाने भन्ने विषय कांग्रेस र माओवादी केन्द्रको भूमिका भर पर्नेपनि स्पष्ट पारे । उनले भने,‘हामी खेतालाको रुपमा जाँदैनौं, कोलिसन पार्टनरको रुपमा लिईन्छ र सम्मानजनक हैसियत हुन्छ भने जान सक्छौं।’



प्रतिक्रिया दिनुहोस्