Logo

सुनसरीका स्थानीय तहमा पद बहाली सम्पन्न



इटहरी, २५ असार । सुनसरी जिल्लाका १२ स्थानीय तहमध्ये जनप्रतिनिधि निर्वाचित ११ स्थानीय तहको आज पद तथा गोपनीयताको शपथसँगै सबै तहका निर्वाचित पदाधिकारीले पद बहाली गर्नुभएको छ ।

यस जिल्लाका छ गाउँपालिका, चार नगरपालिका र दुई उपमहानगरपालिकामध्ये इटहरी उपमहानगरपालिकाको आज दिउँसो भव्य समारोहबीच शपथसँगै पद बहाली गरिएपछि यस जिल्लाका ११ स्थानीय तहका जननिर्वाचित पदाधिकारीले आ–आफ्नो स्थानीय तहमा कार्य प्रारम्भ गर्नुभएको छ ।

यस जिल्लाका कुल स्थानीय तहमध्ये एक गाउँपालिकामा सङ्घीय समाजवादी फोरम, एक गाउँपालिका र एक नगरपालिकामा नेपाल लोकतान्त्रिक फोरम तथा चार गाउँपालिका र दुई नगरपालिकामा नेपाली काँग्रेसले जितेको छ भने हालसम्मको घोषित मत परिणामअनुसार एक नगरपालिका र एक उपमहानगरमा नेकपा (एमाले)ले प्रमुख तथा उपप्रमुख पदमा जित हासिल गरेको छ ।

पूर्वकै केन्द्र बिन्दुमा रहेको इटहरी उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखसहित आठ वटा वडामा नेकपा (एमाले) र ११ वटा वडामा नेका तथा एकवडामा नेपाल लोकतान्त्रिक फोरमले जितेको यस उपमहानगरका पदाधिकारीको शपथसँगै पद बहाली गराइएको छ ।

सो अवसरमा सुनसरीका प्रमुख निर्वाचन अधिकृत एवम् जिल्ला अदालतका मुख्य न्यायाधीश अर्जुनकुमार कोइरालाले राज्यले सुम्पिएको जिम्मेवारी आफूले इमान्दारितापूर्वक पूरा गरेकाले अब जनप्रतिनिधिले पनि जनताले चाहेअनुसार कार्य सम्पादन गरी जनप्रतिनिधिको जिम्मेवारी निर्वाह गर्न इमान्दारितापूर्वक काम गर्न आग्रह गर्नुभयो ।

सोही अवसरमा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली, निर्वाचन अधिकृत भरतमणि रिजाल, इटहरी नगरपालिकाका पूर्वप्रमुख सर्वध्वज साँवाले आ–आफ्नो धारणा राख्नुहुँदै जनताको काम इमान्दारीपूर्वक सम्पादन गनुपर्ने कुरामा जोड दिनुभयो ।

निर्वाचित प्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले जनताले सुम्पेका जिम्मेवारीलाई इमान्दारीपूर्वक तथा निष्ठाका साथ सञ्चालन गरेर जनताले चाहेका सबै प्रकारका विकास निर्माणका कार्यलाई समानताकासाथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot