Logo

कांग्रेसले राजपाको काँधमा बन्दुक राखेर एमालेलाई प्रहार गर्ने प्रयास गरिरहेको छ : पोखरेल



संविधान संशोधन अहिलेको मुद्दा र निकासको बाधक दुवै बनेको छ । एमालेले संविधान संशोधनको विरोध गरिरहेको छ भने नेपाली कांग्रेस र माओवादी मधेशीको माग पुरा गराउनका लागि संविधान संशोधन आवश्यक रहेको दाबी गरिरहेको छ । संविधान संशोधन, प्रदेश नम्बर २ को चुनाव, दलहरुबिचको आपसी सम्बन्ध लगायतका विषयमा ऋषि धमलाले गर्नुभएको संवादको संपादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

नेकपा एमाले संविधान संशोधनको पक्षमा छ कि छैन ?

संविधान संशोधनका विषयहरु सिमाङ्कन, भाषा, नागरिकता, स्थानीय तहको अधिकार कटौति लगायतका छन् । यि विषय संशोधन गर्ने कुरामा हामी सहमत छैनाँै । तर आवश्यक विषयहरु संशोधन गर्ने पक्षमा चाँही एमाले सहमत छ । उल्लेखित विषयहरु संशोधन गर्ने प्रस्ताव चाँही फिर्ता लिनुपर्छ भन्ने हाम्रो बटमलाईन हो । अहिलेको प्रस्तावको चाहीँ हामी विपक्षमा मतदान गछौँ ।

नेकपा एमालेलाई मधेश विरोधी भन्ने आरोप छ । एमालेले किन मधेशीको विरोध गर्छ ?

मधेशी दलमध्ये पनि राजपाले एमालेलाई मधेश विरोधीको रुपमा चित्रित गर्ने गरेको छ । तर के कुरा बुझ्नु जरुरी छ भने राजपाले सिङ्गो मधेशको प्रतिनिधित्व गर्न सक्दैन । स्थानीय तहको चुनावमा एमालले तराई मधेशका १२ वटा जिल्लामा मात्रै ५६ स्थानमा जित हात पारेको छ । जबकी नेपाली कांग्रेसले ३९ सिट मात्रै जित्यो । यो नतिजाले नै एमालेमाथि लगाइएको आरोप खण्डन गरेको छ । किनकी मधेशका जनताले एमालेलाई सही मुल्याङ्कन गरेर भोट दिएका छन् ।

मतदाताले त चुनावमा विकासको एजेण्डालाई हेरेका हुन्छन् । तर राष्ट्रिय एजेण्डा संविधान संशोधन बनेको छ, जुन मधेशप्रति लक्षित छ । एमालेले मधेश लक्षित

संविधान संशोधनको विरोध किन गरेको हो ?

संशोधनको एजेण्डा मधेशी जनताको होइन । संविधान संशोधनको एजेण्डा त काठमाण्डौको हो, जसलाई कांग्रेस र माओवादीले बोकिरहेका छन् । मधेशी जनताको एजेण्डा विकास हो जसलाई हामीले बोकेका छौँ ।

सत्ताको नेतृत्व गरेको कांग्रेसले सहमति र एकताका लागि संविधान संशोधन गरौँ भनेको छ । अब कसरी आगाडि बढ्नुहुन्छ ?

सहमति, सहकार्य र एकताको राजनीति त गिरिजाप्रसाद कोइरालाको निधनपछि अन्त्य भइसकेको छ । अहिले त स्वार्थ पूर्तिका लागि मात्रै सहमतिको खोजि गरिएको छ । मन्त्री पदलाई राष्ट्रियतासँग साँट्न खोजिएको छ । त्यसैले नेपाली कांग्रेसले देशको नेतृत्व गर्न सक्दैन ।

राजपासँग तपाईहरुको सम्बन्ध चिसिएको छ । त्यो सम्बन्धलाई नेपाली कांग्रेसले नै मिलाउने प्रयास गरिरहेको छ नि ?

नेकपा एमालेलाई राजपासँग मिलाउन कांग्रेसको आवश्यकता पर्दैन । राजपासँग वार्ता संवाद गर्नका लागि कांग्रेसको सहयोग चाँहिदैन । कांग्रेसले त अहिले राजपाको काँधमा बन्दुक राखेर एमालेलाई प्रहार गर्ने प्रयास गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot