Logo

असारमा गर्ने भनिएको संविधान संशोधन टर्र्यो, कांग्रेस–माओवादीदेखि ओली एउटै कित्तामा



काठमाडौं, २७ असार । संविधान संशोधन लगायतका विषयमा छलफल गर्न कांग्रेस, माओवादी र राजपाका नेताहरुको आज साँझ बसेको संयुक्त बैठक बिना निश्कर्ष सम्पन्न भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संविधान संशोधन सम्बन्धी राजपाको मागलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भएको थियो ।
आजको बैठकमा माओवादी केन्द्रका अध्यक्ष नारायणकाजी श्रेष्ठले तत्काललाई संविधान संशोधन गर्नतिर लाग्नुभन्दापनि चुनावमा केन्द्रित हुनुपर्ने धारणा राखेका थिए । नेता श्रेष्ठको प्रस्तावलाई कांग्रेसका नेताहरुले पनि स्वागत गरेका थिए ।

स्रोतका अनुसार कांग्रेस र माओवादी केन्द्र केन्द्रिय संसदको चुनाव नभएसम्म अब संशोधन गर्ने पक्षमा देखिएका छैनन् । माओवादी केन्द्रका एक नेताले भने,‘अहिले संशोधन प्रस्तावको पक्षमा दुई तिहाई पुग्ने अवस्था देखिएको छैन, त्यसैले संशोधनको पक्षमा समर्थन पनि जुटाउँदै जाने, चुनावमा पनि गर्दै जाने हो, संशोधनकै लफ्डामा अल्झिनुहुँदैन्।’

राजपाका नेताहरुले आफूहरुसँग भएको सहमति अनुसार संशोधन प्रस्ताव यथाशिघ्र पारित गराउनुपर्ने अडान दोहोर्याएका थिए ।
मंगलबार बिहान प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग पनि छलफल भएको थियो । तर, एमालेले स्थानीय तह चुनावपछि मात्रै संशोधन प्रस्ताव ल्याउनुपर्ने धारणा राखेको थियो ।

बिहानको बैठकमा कुरा नमिलेपछि अहिले पुनः सत्तारुढ कांग्रेस(माओवादीले राजपाका नेताहरुसँग छलफल थालेका हुन् ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राजपा संयोजक महन्थ ठाकुर लगायतका नेताहरु सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस्