Logo

संशोधन प्रस्तावको पक्षमा दुई तिहाई पुग्ने अवस्था आए हामी सदन अवरुद्ध गरेर पारित हुन दिंदैनौं : भीम आचार्य



काठमाडौं, २८ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव भीम आचार्यले सदनमा विचाराधिन संशोधन प्रस्तावलाई कुनैपनि हालतमा पारित हुन नदिने ठोकुवा गरेका छन् । उनले भने,‘संशोधन प्रस्तावको पक्षमा कुनैपनि हालतमा दुई तिहाई पुग्दैन, यदि पुग्ने अवस्था आयो भने हामी जेपनि गर्न बाध्य हुनेछौं ।’

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै आचार्यले अहिलेको संशोधन प्रस्ताव मधेश र मधेशी जनताको हितमा नभएको समेत जिकिर गरे । उनले थपे,‘यो प्रस्ताव मधेशी जनताको पक्षमा छैन, यो सत्तामा पुग्नको लागि गरिएको सम्झौता अनुसार अघि बढाईएको हो, यसले न मधेशीको, न जनजातिको न मुस्लिम, न आदिवासी कसैकोपनि हितमा छैन्।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले निर्वाचनअघि संशोधन प्रस्ताव अघि नबढाउने भनेर प्रमुख तीन ठूला दलहरु कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रवीच भएको सहमति कुल्चिएर सत्तारुढ दलले प्रस्ताव अघि बढाउन खोजेको भन्दै यसमा आफ्नो पार्टीको गम्भिर आपत्ति रहेको समेत बताए । उनले भने,‘यो प्रस्तावमा मधेशी जनताको एउटापनि एजेण्डा छैन, त्यसैले एमाले पास गराउनको लागि बाध्य हुनेछैन्।’

आचार्यले संशोधन प्रस्तावप्रति आफ्नो पार्टीको कुनै लिनुदिनु नभएको समेत स्पष्ट पारे । यद्धपी उनले राष्ट्र र जनताले आवश्यक ठाने भने तत् क्षण संविधान संशोधन हुने सक्ने बताए । उनले अहिले सत्तापक्षले संशोधन गर्नुपर्छ भनेर बखेडामात्रै नझिकेर निर्वाचनको लागि तुरुप प्रयोग गरिरहेको समेत आरोप लगाए ।

उनले अहिले मधेशमा बाढीबाट जनताहरु पीडित बनेको अवस्थामा मधेशवादी दलहरुले जनताको पक्षमा एक शब्दपनि नबोलेको गुनासो पोखे । उनले भने,‘तराईका जनता अहिले मर्नु कि बाँच्नु भन्ने अवस्थामा छन्, तर कसैले पनि यो एजेण्डामा बोलेका छैनन् ।’

पत्रकार ऋषि धमलाले प्रस्तावको पक्षमा दुई तिहाई पुग्ने अवस्था आए तपाईहरु प्रस्तावलाई निर्णयार्थ पेश गर्न दिनुहुन्छ वा सदन अवरुद्ध गर्नुहुन्छ भनेर सोधेको प्रश्नमा आचार्यले संशोधन प्रस्ताव पारित हुने अवस्था नरहेकोले यदि त्यस्तो अवस्था सिर्जना भए आफूहरुले त्यही अनुसारको कदम चाल्ने समेत चेतावनी दिए । उनले भने,‘हामी सदन अवरुद्ध गर्नपनि सक्छौं, त्यो परिस्थिति हेरेर हुन्छ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot