Logo

राष्ट्रिय आमसञ्चार नीति र कार्यान्वयन विषयमा अन्तक्र्रिया



धुलिखेल, २८ असार । राष्ट्रिय आमसञ्चार नीति र कार्यान्वयन विषयको दुईदिने अन्तक्र्रिया आजदेखि काभ्रेपलाञ्चोकको धुलिखेलमा शुरु भएको छ ।

सूचना तथा सञ्चार मन्त्रालय र राष्ट्रिय आमसञ्चार नीति कार्यान्वयन उच्चस्तरीय सुझाव समितिको आयोजनामा भएको कार्यक्रम सूचना तथा सञ्चारमा पहुँच पु¥याउन र सूचनाको हकलाई थप व्यवस्थित गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा प्रशासकीय अदालतका अध्यक्षसमेत रहनुभएका राष्ट्रिय आमसञ्चार नीति कार्यान्वयन उच्चस्तरीय सुझाव समितिका अध्यक्ष काशीराज दाहालले आमसञ्चार संस्थाको पुनःसंरचना कसरी गर्ने, आमसञ्चार नीतिलाई कसरी कार्यान्वयन गर्ने र आमसञ्चार ऐनको मस्यौदाको विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने बताउनुभयो ।

अन्तक्र्रियामा राष्ट्रिय समाचार समिति, गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनको जिम्मेवारी र भूमिका कस्तो हुने भन्ने विषयसँगै अन्य मन्त्रालय र संस्थानको भूमिका कस्तो रहने भन्ने विषयमा पनि छलफल हुने दाहालले जानकारी दिनुभयो ।

कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले उच्चस्तरीय सुझाव समितिले केही काम गरिसकेको जानकारी दिँदै अब हुने छलफलले तयार पारेका मस्यौदालाई समेत अन्तिम रुप दिन सहयोग पुग्ने बताउनुभयो ।

“समितिले काम शुरु गरेर कानुन र ऐन नियमको मस्यौदा समेत तयार गरिसकेको र अन्तिम रुप दिन आवश्यक छ, त्यसको लागि यो छलफलले सहयोग पु¥याउनेछ” सचिव गुरुङले भन्नुभयो, “संविधान पनि आइसकेको र आमसञ्चार नीति पनि आइसकेकाले यो समय अत्यन्तै अवसरका रुपमा प्राप्त भएको छ, यसको भरपूर उपयोग गरौँ ।”

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष भवानी बराल, प्रजिअ शिवप्रसाद सिंखडालगायतले आमसञ्चार नीति तथा कार्यान्वयन गर्र्नमा खेल्नुपर्ने भूमिकाका बारेमा बोल्नुभएको थियो । कार्यक्रममा संघीय संरचनामा सूचना तथा सञ्चार क्षेत्रको पुनःसंरचनाका विषयमा कविराज खनाल, राष्ट्रिय सञ्चार नीति कार्यान्वयनका सन्दर्भमा गर्नुपर्ने व्यवस्थाका विषयमा डा राजेश अहिराज र आमसञ्चारसम्बन्धी ऐनको प्रारम्भिक स्वरुपका विषयमा गुणराज श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।

कार्यक्रममा नेपाल टेलिभिजनका अध्यक्ष महेश दाहाल, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक ओपेन्द्र शर्मा, गोरखापत्र संस्थानका महाप्रबन्धक सुशील कोइराला र रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीलगायतको सहभागिता छ । रासस



प्रतिक्रिया दिनुहोस्