Logo

ओलीको आरोप : ‘संशोधनमा हामी पनि संलग्न हुन्छौं भन्दा सरकार भाग्न थाल्यो’



काठमाडौ., २९ असार । प्रमुख प्रतिपक्षी दल नेकपा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनलाई सत्तापक्षले एमालेविरुद्ध प्रहार गर्ने हतियारमात्र बनाएको तर मधेसको समस्या समाधान गर्न नचाहेको आरोप लगाएका छन् ।

उनले संविधान संशोधनलाई सहमतिबाट टुंगो लगाउँभन्दा सरकारले प्रस्ताव नै बोकेर हिँडेको आरोप लगाएका हुन । बिहीबार काठमाडौंमा मधेसी बुद्धिजिवीहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले विदेशी एजेन्सीले पैसा बाँडेर बिभिन्न व्यक्तिलाई पार्टी छाड्न दबाव दिइरहेको आरोप लगाएका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने,‘संविधान संशोधन बिधेयकमा हामीले संशोधन हाल्यौं । लौ सहमति गरेर उचित कुरामा संशोधन गरौं भनेर हामीले छलफल गर्न खोज्दा सरकार भाग्छ । संसदबाट भोटिङ गरेर टुंग्याउँ भन्नासाथ सरकार बिधेयक च्यापेर भाग्यो ।’

ओलीले एमालेलाई सहमतिमा ल्याएर संविधान संशोधन गराउन सरकारले नचाहेको बताए । उनले एमालेले मानेन भनेर राजनीति गर्न खोजेको आरोप लगाउँदै एमालेको साथ लिनुको साटो सरकार एक सिटे दललाई मन्त्री बाँडेर दुई तिहाई र्पुयाउने तमासा देखाउन लागेको बताए ।

ओलीले भने,‘संशोधनमा हामी पनि संलग्न हुन्छौं भन्दा सरकार भाग्न थाल्यो । त्यसैले अब तराई मधेशको समस्या समाधानमा एमाले विशेष ढंगले अग्रसर हुन लागेको छ । यो कार्यक्रम त्यसैको शुरुवात हो भनेर बुझ्नुस् ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot