Logo

यीनले देउवालाई सफल बनाउन सक्लान त ?



काठमाडौं, ३१ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो कोर टिम गठन प्रक्रियालाई प्राथमिकताका साथ अघि बढाईरहेका छन् । देउवा प्रधानमन्त्री बनेको आज ४० दिन वितिसकेको छ ।

यो बीचमा उनले आफूलाई पूर्ण रुपमा चुनाव सम्पन्न गराउने भूमिकामा मात्रै खरो उतारे । जसका कारण मन्त्रिमण्डल विस्तारदेखि आफ्नै सचिवालय गठन गर्न समेत उनले सकेका थिएनन र अझैपनि छैनन् ।

पछिल्लो समय देउवाले परराष्ट्र मामिला सल्लाहकार र प्रेस संयोजक नियुक्त गरेका छन् । उनको परराष्ट्र सल्लाहकारमा डा. दिनेश भट्टराई रहेका छन् भने प्रेस संयोजकमा भने गोविन्द परियार । हुन त यो बीचमा उनलाई सचिवालय समेत गठन गर्न नसकेको भनेर ठूलो आरोपहरु लगेका थिए । तर, उनले आफ्नो ध्यान यतिवेला सचिवालय गठन र सरकार विस्तारभन्दापनि संविधान संशोधन गरेर राजपा नेपालाईपनि चुनावमा सहभागी गराउनतिर केन्द्रित गरेका थिए । तर संशोधनको संभावना टरेकोले उनी यतिवेला सचिवालय गठनदेखि आफ्नो ‘चुस्त र दुरुस्त’ टिम गठनतिर लागेका छन् ।

यतिवेला प्रधानमन्त्रीलाई सफल बनाउने काममा सक्रिय भएर उनकी धर्मपत्नी डा. आरजु देउवा नै लागिपरेकी छिन् । देउवाले आफ्नो सहयोगी समूह बनाउन नसक्दा राज्य र पार्टी सञ्चालनमा पत्नी आरजु हाबी भएको भनेर समेत आरोप तथा टिकाटिप्पणी नभएका होईन, तर यी सबै आरोपका बावजुद पनि आरजुले देउवालाई सफल बनाउने भूमिकामा आफूलाई बडो संयमतताका साथ प्रस्तुत गरिरहेकी छिन् । प्रधानमन्त्री देउवाको प्रमुख सल्लाहकारको भूमिकामा यतिखेर आरजुले भूमिका निर्वाह गरिरहेकी छिन् । आरजु सांसद समेत हुन् । उनी अन्र्तराष्ट्रिय सम्बन्ध व्यापक भएकी नेतृको रुपमा समेत परिचित छिन् ।

राष्ट्रिय राजनीतिमा देउवालाई सफल बनाउनको लागि उनका प्रमुख सहयोगी भानु देउवाको पनि ठूलो हात छ । भानु देउवा प्रधानमन्त्रीका अति विश्वासिला पात्र हुन् । हरेक महत्वपूर्ण ईस्युमा भानुले नै देउवालाई सरसल्लाह एवम् सहयोग गर्दै आएका छन् । यतिवेला देउवा सफल हुने वा नहुने कुराहरु असोज २ को प्रदेश नम्बर २ मा हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा राजपालाई सहभागी गराउन सक्लान् वा सक्दैनन् भन्ने कुरा नै प्रधान रहेको विश्लेषकहरु बताउँछन् ।

हुन त देउवाले यो बीचमा संसदमा विचाराधिन संशोधन प्रस्ताव पारित गराउनको लागि हदैसम्मको पहल गरेका थिए । तर, संशोधनको पक्षमा दुई तिहाई पुग्ने संभावना टरेपछि उनी यतिवेला संशोधनलाई तत्काल थाँती राखेर चुनावको तयारी, मन्त्रिमण्डल विस्तार लगायतका काममा फोकस्ड भएका छन् ।

यी सबै कामहरुलाई सही ढंगले सम्पन्न गराउनको लागि देउवाका प्रमुख सहयोगी भानुले उल्लेखनीय भूमिका निर्वाह गर्नेमा स्वयम् देउवापनि विश्वस्त छन् । हुन पनि भानुले देउवाको समय व्यवस्थापनदेखि महत्वपूर्ण भेटवार्ताहरु प्रबन्ध गरिदिने गरेका छन् । संभवत् देउवाले भोलि वा पर्सी मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । रामचन्द्र पौडेल पक्षधरलाई मनाएपछि मात्रै अन्य पार्टीका प्रतिनिधिलाई मन्त्रिपरिषद्मा समावेश गर्ने बुझिएको छ ।

त्यस्तै देउवाको सारथीमा यतिवेला केशव जोशी पनि छन् । जोशी खासमा संसदीय दलको नेताको रुपमा देउवाको सहयोगी हुन् । तर उनी यतिवेला प्रधानमन्त्रीको सचिवालयमा समेत रहेर काम गरिरहेका छन् । जोशी देउवाकै क्षेत्रका हुन् । देउवाले उनलाई निकै विश्वास गर्छन् । जोशी सुदुरपश्चिममा निकै प्रसिद्ध छन् । उनको लोकप्रियतालेपनि देउवालाई निकै फाईदा भएको छ ।

त्यस्तै प्रेस संयोजकको भूमिकामा यतिवेला गोविन्द परियार छन् । परियार लोकप्रिय पत्रका हुन् । उनीसँग दैनिक पत्रिकाहरुमा काम गरेको लामो अनुभव छ । त्यतिमात्रै होईन, देश तथा विदेशमा समेत उनले पत्रकारिता सम्बन्धी उच्चस्तरीय गोष्ठीहरुमा भाग लिएका छन् । उनले संयुक्त राज्य अमेरिकाबाट पत्रकारितासम्बन्धी सर्ट टर्म फेलोसिफ कोर्स समेत पूरा गरेका छन् । मिडियामा देउवाका सकारात्मक समाचारहरु सम्प्रेषण गर्नेदेखि अन्य सरसल्लाह दिने भूमिकामा यतिवेला परियार लागिपरिरहेका छन् ।

देउवाले अझै धेरै सल्लाहकारहरु नियुक्त गर्न बाँकी नै छ । उनले कसलाई राजनीतिक सल्लाहकार बनाउने हुन त्यो पनि अझै टुँगो लागेको छैन । तर, उनले छिट्र्ट सल्लाहकार लगायत आफ्नो सचिवालय सदस्यहरु नियुक्त गर्ने अन्तिम तयारी भैसकेको बालुवाटार निकट उच्च स्रोतले जनाएको छ।

देउवा चौथो पटक प्रधानमन्त्रीको भूमिका अहिले काम गरिरहेका छन् । यो भन्दा अगाडिका तीन कार्यकाल उतारचढावपूर्ण रुपमा सम्पन्न भएपनि यसपटक भने उनी आफू सफल भएरै छाड्ने प्रणका साथ काम गरिरहेका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा समेत उनले यसपटक सफल हुने बताएका छन् ।

प्रधानमन्त्री देउवाले भनेका थिए,‘हेर्नुहोस्, ऋषिजी यसपटक म चौथोपटक मुलुकको प्रधानमन्त्री बनेको छु, म सफल हुन्छ, हेर्दै जानुहोला म चुस्त दुरुस्त टिम बनाउँछु, त्यही अनुसार मुलुक र जनताको आवश्यकत्ता अनुसार काम गर्छु ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot