Logo

दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुन्छ : रमेश लेखक



काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश लेखकले एक÷दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुने बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा लेखकले दोस्रो चरणको स्थानीय तहको निर्वाचनको कारणले मन्त्रिमण्डल विस्तारमा केही ढिलाई भएको भएपनि अबको दुईदिनभित्रै सरकार विस्तार हुने बताएका हुन् ।

उनले भने,‘सरकार विस्तारमा विलम्ब भएकै हो, अहिले हामी अन्तिम छलफलमा जुटेका छौं, ढिलाई भएपनि अब चाँडोभन्दा चाँडो सरकार विस्तार हुन्छ, आज साँझसम्म हामी यसबारेमा छलफल गर्छौं, खासगरी मन्त्रालय बाँडफाँड गर्ने काम करिब–करिब सकिएको छ, मन्त्री कस कसलाई बनाउने भन्नेबारे पनि आजभोलिभित्रै टुँगो लाग्छ, मलाई लाग्छ अबको दुईदिनभित्रै सरकार विस्तार हुन्छ।’ उनले केही शीर्ष नेताहरु उपत्यका बाहिर भएकोले छलफल हुन नसकेकोले नेताहरु आज साँझ बसेर भोलिसम्म सरकार विस्तार टुँग्याउने बताए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले सरकारमा सहभागिता गराउनेबारे राप्रपा र संघीय समाजवादी फोरम नेपालसँग कुराकानी भैरहेको बताए ।

नेता लेखकले राजपा स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा सहभागी हुने विश्वास दिलाए । उनले भने,‘राजपा निर्वाचनमा आउँछ, असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा राजपा सहभागी हुन्छ, त्यही उद्देश्य उहाँहरुले दल दर्ता गर्नुभएको हो, निर्वाचन चिन्ह पनि माँगिरहनुभएको छ ।’ सरकारले संविधान संशोधन प्रस्ताव पारित गराउनको लागि महत्वपूर्ण प्रयास गरेको भएपनि प्रस्तावको पक्षमा दुई तिहाईको सुनिश्चितता हुन नसक्दा केही विलम्ब भएको उनको भनाई थियो ।

लेखकले भने,‘संशोधन प्रस्तावको पक्षमा एमालेले समर्थन नगर्दा दुई तिहाईको सुनिश्चितता हुन नसकेको हो, संशोधन प्रस्ताव पारित गराउनको लागि हामी संशोधन पक्षधरहरु कांग्रेस, माओवादी केन्द्र, राप्रपा र राजपा लगायतका दलहरु एकमत छौं।’

उनले प्रदेश नम्बर २ मा हुने तेस्रो चरणको निर्वाचन कुनैपनि हालतमा नरोकिने स्पष्ट पारे । यद्धपी सरकारले संशोधनको प्रयत्न भने जारी राख्ने उनको भनाई थियो ।

लेखकले निर्वाचन क्षेत्र निर्धारण आयोग छिट्टै गठन गर्ने समेत जानकारी दिए । उनले भने,‘सबै तयारी भैरहेको छ, दुईदिनभित्रै सरकार विस्तार हुन्छ, र त्यही विस्तारित सरकारले आयोग गठन गर्ने काम गर्छ।’ अहिले संविधानले प्रदत्त गरेको निर्वाचन क्षेत्र अर्थात १६५ नै हुने समेत बताए । लेखकले भने,‘२४० को हल्ला फैलाइएको छ, यो मान्य हुनेछैन, यो संविधानतः वा राजनीतिक रुपले पनि अनुकुल छैन।’

त्यस्तै उनले छुटेका मतदाताहरुको नामावली संकलनको लागि १५ दिनको समय दिईएको र सदरमुकाममै गएर दर्ता गराउनुपर्ने कुरा मतदाताहरुको लागि अलिक झन्झटिलो भएको बताए ।

उनले भने,‘यस्तो मध्य वर्षको समय छ, स्थानीय तहबाटै नामावली संकलन गर्नुपर्दथ्यो।’ उनले घरदैलोमा पुगेर मतदाता संकलन गर्नुपर्ने थियो भन्दै सदरमुकामबाट भोलिबाट सुरु गर्ने मतदाता नामावली संकलनप्रति गुनासो पोखे ।

प्रधानमन्त्री देउवाले ४० दिनभित्र महत्वपूर्ण तथा ऐतिहाँसिक कामहरु सम्पन्न गरेको समेत लेखकको भनाई थियो । उनका अनुसार देउवाले दोस्रो चरणको निर्वाचन अत्यन्तै शान्ति र सफल रुपमा सम्पन्न गराएको, तेस्रो चरणको निर्वाचनको लागि आवश्यक तयारीहरु गरिरहेको, प्रदेश र केन्द्रिय संसदको निर्वाचनको लागि आवश्यक कानूनहरु तर्जुमा गर्ने काम भैरहेको, स्थानीय कर्मचारी खटनपटन लगायत महत्वपूर्ण कामहरु यो छोटो अवधिमा गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot