Logo

मन्त्रिमण्डल विस्तारबारे आजै प्रधानमन्त्री देउवा र प्रचण्डवीच भेटवार्ता हुँदै



काठमाडौं, १ साउन । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रवीच सरकार विस्तारबारे आज साँझ छलफल हुने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि नै सरकार विस्तार गर्ने तयारी गरिरहेको बेला सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आज साँझ भेटवार्ता गर्दैछन् । प्रचण्ड आजमात्रै स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री देउवाले आज साँझमात्रै कांग्रेसका केही प्रभावशाली नेताहरुसहित माओवादी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्ने तय भएको बालुवाटार स्रोतले जानकारी दिएको हो ।

स्रोतको भनाई छ,‘सकेसम्म हिजो नै प्रधानमन्त्रीज्यूले मन्त्रिमण्डल विस्तारबारे छलफल गर्न चाहनुभएको थियो तर माओवादी अध्यक्ष प्रचण्डजी काठमाडौं उपत्यका नआईसक्नुभएकोले हिजो बैठक हुन सकेन, आज साँझको लागि दुई नेताहरुको बैठक तय भएको छ।’

माओवादीले सरकारमा क–कसलाई पठाउने भनेर यसअघि नै नाम तय गरिसकेको छ । अध्यक्ष प्रचण्ड बैंकक उड्नुअघि नै पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम तय गरेर गएका थिए । तर कांग्रेसभित्रकै विवादका कारण अहिलेसम्मपनि मन्त्रिमण्डल विस्तार हुन नसकेको बुझिएको छ ।

खासगरी कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहलाई सम्मानजनक कोटा र आकर्षक मन्त्रालय पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवासँग माँग गरेपछि विवाद देखिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot