Logo

उपेन्द्र र बाबुरामले दिए अर्को चेतावनी



काठमाण्डौ, १ साउन  । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालले संसदमा टेबुल गरिएको संविधान संशोधनको विषयलाई आवश्यक परिमार्जन सहित संशोधन गरेर अगाडि नबढे राजनीतिक संकट आउने चेतावनी दिएका छन् ।

नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराई र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आज संयुक्त विज्ञप्ती निकालेर चेतावनी दिएका छन् ।

यस्तो छ विज्ञप्तीको पूर्णपाठ :

१. देशमा विद्यमान राजनीतिक समस्याहरुको समाधानको लागि पहिले देखि नै अल्झिएर थाति रहेको संविधान संशोधनको विषयलाई सम्बन्धित पक्षहरुसँग तत्काल वार्ता गरेर टुंगो लगाउन पहल गरिनु पर्दछ । सदनमा समेत टेबुल गरिएको संविधान संशोधनको विषयलाई आवश्यक परिमार्जन सहित संशोधन गरी टुंग्याएर मात्रै अगामी निर्वाचनहरुका लागि सहज वातावरण बन्नेछ । अन्यथा, सो विषयले गम्भीर राजनीतिक संकट ल्याउन सक्नेछ ।

२. नेपाली जनताले लामो संघर्ष गरेर प्राप्त गरेको संघीयता, गणतन्त्र, धर्मनिरेपक्षता, समावेशिता आदिजस्ता विषयलाई नकारात्मक प्रभाव पार्ने र उल्ट्याउन खोज्ने कुनै पनि गतिविधि हामीलाई स्वीकार्य हुने छैन । हामीले पहिले देखिनै तीन वटै निर्वाचन एकै चरणमा हुनु पर्ने विषय उठाउँदै आएको सर्वविदितै छ, तर पनि पहिले स्थानीय तहको निर्वाचन गरियो । स्थानीय तहको निर्वाचन पछि स्वतः प्रदेशको चुनाव सम्पन्न गर्नु नै सान्दर्भिक र उपयुक्त हुनेछ । संघीयताको प्रणालीमा राज्य प्रवेश गरिसकेको वर्तमान अवस्थमा फेरी संघीयता व्यवस्थापिका संसदको निर्वाचन पुरानै २४० अनुरुप गर्ने आशयका वार्ताहरुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै प्रतिकूल प्रभाव पार्नेछ । त्यसैले, प्रदेशको चुनाव पहिले नै गरियोस् ।

३. राज्यको पुनर्संरचनामा प्रवेश गरिसकेर स्थानीय तहको निर्वाचन समेत भइसकेको अवस्थामा फेरी उही पुरानै संसदीय निर्वाचन क्षेत्र कायम राख्ने भन्ने विषषप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

कुनै पनि हालतमा पुरानै निर्वाचन क्षेत्र कायम राख्ने कुरा हामीलाई मान्य हुने छैन । यसले संघीयता र समावेशिता सहितको लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई प्रतिकूल असर गर्ने भएकाले तत्कालै निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरी संसद र प्रादेशिक निर्वाचन क्षेत्र निर्धारण कार्य सुरु गरियोस् । राज्य पुनर्संरचनाको कुनै पनि बहस हुँदा आन्दोलनका उपलब्धिहरुबाट पछि हट्न पाइने छैन र राष्ट्रिय एकतालाई असर पार्ने कुनै पनि कार्य हामीलाई स्वीकार्य हुने छैन ।

बाबुराम भट्टराई -संयोजक, नयाँ शक्ति पार्टी, नेपाल

उपेन्द्र यादव- अध्यक्ष,  संघीय समाजवादी फोरम, नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot