Logo

चुनावअघि संविधान संशोधन हुनै सक्दैन् : महासेठ



काठमाडौं, ३ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता रघुवीर महासेठले असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय तहको तेस्रो चरणको निर्वाचन अब कसैलेपनि चाहेर नरोकिने स्पष्ट पारेका छन् । उनले भने,‘निर्वाचन अब कसैले चाहेर पनि रोकिँदैन, एक हुन्छ, दुई हुन्छ, तीन हुन्छ।’

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महासेठले सदनमा विचाराधिन संशोधन प्रस्तावलाई यथास्थितिमा आफूहरुले समर्थन नगर्ने स्पष्ट पारेका छन् ।‘अहिले सदनमा रहेको संशोधन प्रस्तावलाई हामी समर्थन गर्न सक्दैनौं, प्रस्ताव परिमार्जन भएर आउँछ भने हामी सकारात्मक हुन्छौं’ उनले अघि भने,‘तर यथास्थितिमा हामी प्रस्तावलाई समर्थन गर्न सक्दैनौं।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले चुनावअघि संशोधनको कुनै संभावना नरहेको समेत जिकिर गरे । महासेठले भने,‘चुनावअघि संशोधन हुने मैले कुनै संभावना देखेको छैन, जनताले अहिले निर्वाचन चाहेका छन् ।’

राजपाले सरकारको विरोध गर्नु गलत भएको टिप्पणी गरे । उनले भने,‘अब राजपाले सरकारको विरोध गर्नुको कुनै कारण छैन, विरोध गर्नुभन्दा बरु तुरुन्त सरकारलाई दिएको समर्थन फिर्ता दिएर जनतामा गए भैगयो नि, राजपामा अहिले देखिएको प्रमुख समस्या भनेको नै आत्मनिर्णय गर्न सक्ने क्षमता भएन, सरकारलाई जुन शक्तिले समर्थन गर भन्यो, त्यही शक्तिले फिर्ता नगर्न दबाब दिएको छ, त्यही भएर उहाँहरुले फिर्ता लिन सक्नुभएको छैन।’ उनले प्रश्न गरे,‘सानो निर्णय लिनपनि किन शक्ति केन्द्र धाउनुपर्यो ?’

उनले राजपालाई चुनावमा आउन नदिने कांग्रेसले नै गेम प्लान गरिरहेको आरोप लगाए । उनले भने,‘कुनै न कुनै बहानामा कांग्रेसले राजपालाई चुनावमा आउन चाहिरहेको छैन, किनकी कांग्रेस र राजपा एउटै गुरुका दुई चेला हुन्।’ उनले आफ्नो पार्टीले चुनावमा राजपाको उपस्थिति चाहेको समेत जिकिर गरे । उनले राजपालाई चुनावमा जानको लागि सरकारले गर्नुपर्ने न्यूनतम कामहरु समयमै गरिदिनुपर्ने समेत माँग गरे ।

महासेठले राजपाले चुनावमा भाग नलिनुको कारण हार्नुपर्ने स्थितिको सामना गर्न नसक्नु डरपनि रहेको आरोप लगाए । उनले निर्वाचन समयमै सम्पन्न गर्नको लागि तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न समेत माँग गरे । महासेठले संसदको निर्वाचन क्षेत्र बढाउने कुरा आफूहरुलाई मान्य नहुने समेत जिकिर गरे । उनले भने,‘संसदको संख्या १६५ बाट १६६ पनि हुन सक्दैन्, यही १६५ पनि बढि नै हो।’

चुनाव हुन्न र हुन दिन्नौं भन्नेहरुलाई जनताले नै जनताले नै अब साथ नदिने उनको भनाई थियो । ‘संशोधन प्रस्ताव देखाएर चरण–चरणका चुनाव बहिष्कार गरिरहे मधेशमा स्वयम् राजपाको अस्तित्व समाप्त हुन्छ,’उनले थपे,‘त्यसैले चुनावमा जाऔं, जनताले अहिले चुनाव चाहेका छन्।’ उनले वर्तमान सरकारका गठबन्धन दलहरुले राजपालाई ठगिरहेको समेत बताए ।

उनले संसदको म्याद एक वर्ष थप्ने सत्तारुढ दलहरुले प्रयास गरिरहेको कुरा बाहिर चर्चामा आएकोप्रति टिप्पणी गर्दै भने,‘यो मनको लड्डु घिउसँग खाने कोशिसमात्रै हो, माघ ७ गतेभित्रै सबै निर्वाचन गर्नुपर्छ।’



प्रतिक्रिया दिनुहोस्