Logo

एमाले मैदानमा छ भनेपछि त्यो मैदान एमालेको हो : ओली



काठमाडौं, ३ साउन। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले स्थानीय तहको चुनावमा पाएको मत र सिट संख्याबाट आफू आश्चर्यमा परेको बताएका छन् ।

उनले भने,‘एमाले पहिलो पार्टी हुनुपथ्र्यो, भयो, यो त स्वभाविक नै थियो । तर, कांग्रेसले कसरी यति धेरै मत पायो ? हामीले जनतामा परेको भ्रम अझै चिर्न सकेका रहेनछौं । अब हाम्रो ध्यान त्यसतर्फ केन्द्रित हुनुपर्छ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आफ्नो पार्टी एमालेले हरेक निर्वाचनमा जित्नुपर्ने बताए । ‘हरेक पेशागत तथा सामुदायिक संगठनमा एमालेले जित्नुपर्छ । जहाँ एमाले सरिक हुन्छ त्यो ठाउँमा जित्नुपर्छ । एमाले मैदानमा छ भनेपछि त्यो मैदान एमालेको हो, त्यहाँ एमालेले जित्नुपर्छ’ उनले भने ।

कांग्रेसको सति गएर निर्वाचन नजित्ने भन्दै निर्वाचन जित्नका निम्ति एमालेसँग सहकार्य गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन् ।

‘कांग्रेसको सति गएर माओवादीले कहिल्यै चुनाव जित्न सक्दैन । अब नेपालमा लोकतन्त्रको नेतृत्व बामपन्थी आन्दोलनले मात्र गर्न सक्छ । र, त्यसको नेतृत्व एमालेले गर्छ । एमालेको नेतृत्वमा माओवादी केन्द्र आउनुपर्छ’ ओलीले भने ।

माओवादी केन्द्रका नेताहरुसँग सहकार्यका लागि आग्रह गर्ने तयारीमा रहेको ओलीको भनाई थियो । ‘म एक, दुई दिनमै माओवादीका नेतालाई भन्नेवाला छु, आजको यथार्थ र भोलिको सम्भावना बताउनेवाला छु, सति गएर चुनाव जितिन्न । चुनाव जित्नुपर्छ भने एमालेसँग सहकार्य गर्नुपर्छ, गर्नुस् भन्नेवाला छु ’ उनले भने ।

नेपाली कांग्रेस स्वतन्त्र न्यायपालिका, जनताको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताविरुद्ध खुलेआम बिदेशीको मतियार भएको भन्दै लोकतन्त्रको रक्षा वामपन्थी आन्दोलनबाट मात्र सम्भव हुने उनले बताए ।

वैदेशिक रोजगार व्यवसायी संघका नवनिर्वा्चित पदाधिकारीलाई निवास बालकोटमा बधाई दिँदै अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन परिणामप्रति टिप्पणी गर्नेक्रममा माओवादी केन्द्रलाई बामपन्थी सहकार्यका लागि सुझाव दिएका हुन् ।

संघका नवनिर्वा्चित अध्यक्ष रोहन गुरुङले ब्यवसायीका समस्या सुनाउँदै त्यसमा पहल गर्न आग्रह गरेका थिए ।

 

 



प्रतिक्रिया दिनुहोस्