Logo

सुशिलको निधनपछि पहिलोपटक तीन कोइराला नेताहरु एक ठाउँमा भेला !



काठमाडौं, ४ साउन । प्रमुख दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला निवास टोखामा पहिलो पटक तीन जना कोइराला नेताहरु एक ठाउँमा भेला भएर छलफल गरेका छन् ।

महामन्त्री शशांकको निवासमा नेताद्धय डा. शेखर कोइराला र सुजाता कोइराला भएका हुन् । तीन जना नेताहरुवीच आगामी दिनमा कसरी अघि बढ्नेबारेमा गम्भिर छलफल भएको स्रोतले जनाएको छ ।

तत्कालिन पार्टी सभापति सुशिल कोइरालाको निधनपछि पहिलो पटक यी तीन जना कोइराला नेताहरु एक ठाउँमा भेला भएका हुन् ।

पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छन् । अर्का बरिष्ठ नेता रामचन्द्र पौडेलले देउवासँग मन्त्रिमण्डलदेखि लिएर अन्य नियुक्तीसम्म भागबण्डा खोजिरहेको बेला तीन जना नेताहरु भेला भएर छलफल गर्नुलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

कोइराला परिवारको नेपालको राजनीतिमा योगदान, पछिल्लो राजनीतिक अवस्था, परिवारका यसअघिका अग्रज एवम् शीर्ष नेताहरुको भूमिका लगायतका विषयमा केन्द्रित रहेर तीन नेताहरुवीच छलफल भैरहेको स्रोतले जनाएको छ ।

उनीहरुले आज लञ्च समेत सँगै गरेका छन् । कोइराला परिवारका नेताहरुलाई एकै ठाउँमा राख्नको लागि कांग्रेसका केही प्रभावशाली युवा नेताहरुले पहल गरेका थिए ।

कोइराला नेताहरु यसरी मिलिसकेपछि पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालावीच समझदारीका साथ अघि बढ्ने संभावना बढेको छ । यसको लागि पनि यही युवा नेताहरुले पहल गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot