Logo

संविधान संशोधन प्रस्ताव अघि नबढाउन सरकारलाई राजपा अध्यक्ष ठाकुरको सुझाव !



काठमाडौं, ४ साउन । राष्ट्रिय जनता पार्टी नेपालकै शीर्ष नेताहरुले तत्काललाई संविधान संशोधन प्रस्ताव थाँती राख्न सरकारलाई सल्लाह दिएको खुलासा भएको छ ।

संशोधन प्रस्ताव पारित नभएसम्म चुनावमा भाग नलिने रटान र अडान लिईरहेको राजपाका शीर्ष नेताहरु स्वयम् नै यथास्थितिमा संशोधन प्रस्ताव पारित हुनेमा विश्वस्त नभएपछि सरकारलाई संशोधन प्रस्ताव थाँती राख्न सुझाव दिएको स्रोतले जनाएको छ ।

राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले हिजो प्रधानमन्त्री निवास बालुवाटारमा भएको सरकार र राजपाका शीर्ष नेताहरुको बैठकमा संशोधन प्रस्तावलाई थाँती राखेर अन्य मुद्दाहरुको तत्काल सम्बोधन गर्नुपर्ने आग्रह गरेका थिए ।

बैठकमा उनले चुनावअघि नै आफ्ना कार्यकर्ताहरुको रिहाई, मुद्दा फिर्ता, सहिद घोषणा र घाईतेहरुको उपचार तथा भरणपोषण लगायतका माँगहरु तत्काल क्याबिनेटबाट गर्नुपर्ने बताएका थिए । ठाकुरको माँगप्रति प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति जनाएका थिए । प्रधानमन्त्री देउवाले जवाफमा आफूले एक÷दुई दिनभित्रै ती माँगहरु पूरा गराउने वचन दिएका थिए ।

कांग्रेस नेता रमेश लेखकका अनुसार अहिले संशोधन प्रस्ताव अगाडि नबढ्ने भएको छ । उनले पनि राजपाले प्रस्ताव पारित वा फेल जे भएपनि निर्णय स्विकार गरेमात्रै आफूहरुले निर्णयार्थ पेश गर्ने नभए तत्काललाई थाँती राख्ने योजना लिएको सुनाए । राजपाका नेताहरुले नै स्वयम् प्रस्ताव पारित हुने अवस्था नभएकोले प्रस्ताव अघि बढाउन नहुने सुझाव दिएकोले संशोधन प्रस्ताव तत्काललाई थाँती राखिएको उनको भनाई थियो ।

नेता लेखकले भोलि क्याबिनेट बस्ने भएकोले राजपाका संशोधनबाहेकका अरु सबै माँगहरु पूरा हुने विश्वास दिलाए । पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने,‘संशोधन प्रस्तावलाई तत्काल थाँती राख्ने आन्तरिक सहमति भएको छ, राजपाका साथीहरुले नै उक्त प्रस्ताव निर्णयार्थ पेश नगर्न आग्रह गरेपछि हामीले प्रस्ताव थाँती राखेका हौं, किनकी प्रस्ताव अहिले पास हुँदैन।’



प्रतिक्रिया दिनुहोस्

Screenshot