Logo

प्रधानमन्त्री देउवाको भारत भ्रमणपछिमात्रै मोदी नेपाल आउने



काठमाडौं, ५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएपछिमात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने भएका छन् ।

भारतीय प्रधानमन्त्री मोदी छिट्टै नेपाल भ्रमणमा आउने भएका हुन् । नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँगको कुराकानीमा भारतीय अधिकारीहरुले प्रधानमन्त्री मोदी छिट्टै नेपाल आउनेबारे जानकारी गराएका थिए । मोदीको भ्रमणको लागि नेपाल र भारत दुवै तर्फबाट आन्तरिक गृहकार्य समेत भैरहेको भारतीय उच्च अधिकारीहरुले जनाएका थिए ।

भारतीय स्रोतका अनुसार दशैपछि मोदी काठमाडौं आउने तयारी गरिरहेका छन् । दुवै पक्षको सहमतिमा मोदीको नेपाल भ्रमणको मिति तय हुने पनि स्रोतले जनाएको छ । भारतीय प्रधानमन्त्री मोदी भारतीय लगानीमा निर्माण हुने अरुण तेस्रो जलविद्युत परियोजनाको उद्धघाट्नको लागि नेपाल आउन लागेका हुन् ।

यसअघि उक्त आयोजना वन अतिक्रमणको विवादले केही समय पछि धकेलिने बुझिएको थियो । तर संखुवासभाका सांसद तथा नेता दिपक खड्काले उक्त विवाद समाधान गरेर आयोजना समयमै उद्धघाट्न गर्न पहल गरिरहेका छन् । दशैं र तिहारको वीचमा अर्थात अक्टोवरमा उक्त अरुण तेस्रो सिल्यान्यास गर्न राम्रो हुने नेपालका लागि भारतीय राजदुत मञ्जिवसिंह पुरीले पनि सोचेका छन् ।

यता भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायले पनि भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको तयारी लागि दुवै पक्षबाट अहिले व्यापक गृहकार्य भैरहेको पत्रकार ऋषि धमलालाई जानकारी गराएका थिए । ‘मोदीजी नेपाल–भारत सम्बन्ध अत्यन्तै समुधुर र मजबुद बनाउने पक्षमा हुनुहुन्छ’–उनले भने,‘उहाँले नेपाललाई विशेष महत्व दिनुभएको छ, नेपाल–भारत द्धिपक्षीय आर्थिक सम्बन्ध थप मजबुद बनोस् भन्ने उहाँको चाहना छ।’

यसअघि भारतीय प्रधानमन्त्री मोदीले दुई पटक नेपाल भ्रमण गरिसकेका छन् । पहिलो पटक उनले सन् २०१४ को अगष्टमा नेपाल भ्रमण गरेका थिए। दोस्रो पटक मोदी १८ औं सार्क सम्मेलनमा भाग लिनका् लागि नेपाल आएका थिए ।

संखुवासभामा बन्न लागेको ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको निर्माण केही महिनाभित्रै सुरु हुने भएको छ। आयोजना निर्माणको जिम्मा पाएको भारतीय कम्पनी एसजेभिएन (सतलज) ले आगामी सेप्टेम्बरबाट निर्माणको काम सुरु गर्नेछ ।

राष्ट्रिय गौरवको आयोजनासमेत रहेको अरूण तेस्रोको शिलन्यास समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुने गरी तयारी भइरहेको सतलजले जनाएको छ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot