दीपेश केसी : श्रावण अर्थात् श्रवणको अर्थ सुन्नु हो । पुराण र उपनिसद्ले श्रावणमा सुन्नु भनेको छ । ज्ञानज्ञुनका कुरा, प्रेरणादायक बहसहरू सुन्नु, विषयहरूबारे बुझ्नु र मनन गर्नुमा श्रावणको पृथक महत्व छ ।
हरेक व्यक्ति समस्यासँग जुध्नुपर्ने अवस्थामा रहिरहन्छ । समस्या नभएको समाज असम्भव छ । अर्कोतर्फ, सुनेर र मनन गरेर समस्याको निक्र्यौल नगरी समाधान निस्कदैन । त्यसैले श्रावण समस्याहरूलाई सुन्ने, बुझ्ने र समाधानको उपाय निकाल्ने अवसरको महिनाका रूपम सदुपयोग गर्न सके समाजको हित हुन्छ । नसुन्ने र आफ्ना कुरा लाद्ने प्रवृत्तिले हाम्रो जस्तो समाज पिरोलिएको छ ।
धर्मविरुद्धको आचरण भनेको यही हो । हाम्रो धर्म संस्कृतिले सान्दर्भिक मूल्य र मान्यताहरू स्थापित गरेको छ । त्यस अनुरूप हामी चलिरहेका छौं कि छैनौं ? प्रश्न तड्कारो छ ।
धर्म र समाजलाई एउटै देख्न समाजशास्त्री इमाइल दुर्खिमको तर्कलाई आधार मानेर बुझ्ने हो भने हिन्दु धर्मले श्रावणको जुन महिमा वर्णन गरेको त्यो वर्तमानमा उत्तिकै सान्दर्भिक छ । सुन्नुपर्ने र बुझ्नुपर्ने क्षेत्र धेरै छन् । सुनुवाई हुनुपर्ने क्षेत्र झन् धेरै छन् । असल भावले दुःखीको पीडा सुन्नु, जिम्मेवार निकायमा रहेकाहरूले समस्याहरू सुन्नु र मनन गर्नु आजको आवश्यकता हो ।
सुन्नुपर्नेले समस्या नसुन्ने र मनन नगर्ने गर्दा समाजमा समस्याको पहाड बनिसकेको छ । थुप्रिएका समस्याको पहाड पन्छाउन सहज छैन । जो पन्छाउनुपर्ने निकायमा छन् ती न त आफै ठोस कदम चाल्छन् न त अरूको सल्लाह सुनेर बढ्छन् । सुन्नेभन्दा सुनाउने, सिक्न चाहने भन्दा नजानी नजानी आफै सिकाउन खोज्ने प्रवृत्ति हावी छ ।
धर्मशास्त्रले श्रावणमा सुन्नु भनेपनि शक्तिमा रहेकाहरू शक्तिकै लागि श्रावण महिनामा भगवान् शिवको मन्दिरमा दर्शन गर्न पुग्छन् । तर, उनीहरूमध्ये अधिकांश श्रावणको महत्व र अर्थबारे अनविज्ञ छन् । यदि छन् भनेपनि यसको विशेषता अनुसारको कर्म गर्दैनन् । पशुपतिनाथमा लाम लाग्ने, ठाडो टीका लगाएर ढोंग रच्ने क्रियाकलापमात्र शिवभक्ति होइन । धर्मको सच्चा अनुशरणकर्ता मात्र धार्मिक हुनसक्छ ।
समाजले धर्म अनुरूपको आचरण खोजेको छ ढोंग होइन । समाजले धार्मिक व्यक्तिहरू जिम्मेवार पदमा खोजेको छ ढोंगी होइन । ढोंगीहरू जिम्मेवार पदमा हावी हुनाका कारण समाजमा विकृति र विसंगति व्याप्त छ ।
जिम्मेवारहरूले सुन्नैपर्ने
श्रावण महिनाभर शिव मन्दिरहरूमा भक्तजनहरूको भीड लाग्छ । विशेषगरी श्री पशुपतिनाथ मन्दिरमा श्रावणको सोमबार आस्थावान्हरू ब्रत बसेर दर्शनका लागि पुग्छन् । भीडहरू भित्र कतिपय उच्च पदस्थ व्यक्ति र तिनका परिवारका सदस्यहरू समेत हुन्छन् । जिम्मेवार निकायमा रहेकाहरूले श्रावणको अर्थ अनुसार महिनाभर कर्म गरे देश र समाजको हितमा केही न केही सकारात्मक काम हुन्थ्यो कि !
समाजमा अन्याय र अत्याचार बढेको छ । काम गर्नेभन्दा कुरा गर्नेको हालीमुहाली बढ्दो छ । यो समाजका लागि घातकसिद्ध छ । सुन्नेभन्दा सुनाउने हावी छन् । सुनाउनेहरू अधिकांश सतही देखिन्छन् । जसका कारण सुन्नेहरूमा समेत नकारात्मक प्रभाव बढिरहेको छ । जिम्मेवार व्यक्तिहरूले सुनाउनेभन्दा सुन्ने स्वभावमा वृद्धि गर्नुपर्ने अवस्था छ ।
जिम्मेवार निकायमा रहेकाहरूले कम्तिमा श्रावण महिनाभर सुन्ने र मनन गर्ने गरिदिए देशमा धेरै समस्याको हल हुन्थ्यो कि ! धार्मिक आस्था र विश्वासका साथ पुगेकाहरूले श्रावणको वास्तविक अर्थ र महत्व बुझिदिएर पालना मात्र गरेपनि आशाका दीपहरू मन्दिरभित्र मात्र नभई बाहिर पनि बल्थ्यो कि ?