Logo

कानून निर्माणमा महिला सांसदको महत्वपूर्ण भूमिका हुनुपर्छ : सभामुख घर्ती



काठमाडौँ, ५ साउन । सभामुख ओनसरी घर्तीले कानून निर्माणमा महिला सांसदको भूमिका महत्वपूर्ण हुनुपर्ने बताउनुभएको छ ।

महिला सांसद समन्वय समितिको प्रथम भेलाको यहाँ आज उद्घाटन गर्दै उहाँले भन्नुभयो – “महिलाको अधिकार संविधानमा सुनिश्चित भइसकेको सन्दर्भमा कानून निर्माणमा पनि महिला सांसदले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्दछ ।”

सभामुख घर्तीले स्थानीय तहको निर्वाचनमा महिलालाई उपप्रमुखमा मात्र केन्द्रित गरे पनि सङ्ख्यात्मक रूपमा वृद्धि भएको उल्लेख गर्दै थप अधिकारका लागि महिला सांसद एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले महिला सांसद समन्वय समिति गठन गरेर प्रथम भेलाको आयोजना गर्नु आफैँमा सकारात्मक भएको भन्दै महिला अधिकार प्रवद्र्धनका लागि सरकार र पार्टीकोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले प्राप्त अधिकारलाई जोगाउँदै थप अधिकारका लागि महिलाले एकीकृत रूपमा आन्दोलन गर्नुपर्नेमा जोड दिनुभयो ।

समितिका अध्यक्ष आरजु देउवा राणाले समितिको प्रथम भेलाले कार्यविधि बनाएको र आवश्यक परिमार्जनसहित कार्यविधि पारित गरिने बताउनुभयो ।

महिला सांसद समन्वय समितिमा आबद्ध महिला सांसदले अब विस्तार हुने मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्नुपर्ने माग गर्दै आएका छन् ।

मुुलुकमा व्याप्त महिला हिंसाका घटना अन्त्य गरिनुपर्ने लगायतका माग प्रस्तुत गर्दै समितिले प्रधानमन्त्री शेरबहादुुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विभिन्न राजनीतिक दललाई ज्ञापनपत्र समेत बुझाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot