Logo

काभ्रेपलाञ्चोकमा मतदाता बढे



बनेपा, ६ साउन । काभ्रेपलाञ्चोकमा अहिलेसम्म फोटोसहितको मतदाता नामावलीमा कुल एक हजार ५७३ जनाले आ–आफ्नो नाम दर्ता गरेका छन् ।

निर्वाचन आयोगले नाम छुटेकाहरुको फोटोसहितको मतदाता नामावली संकलनका लागि काम शुरु गरेपछि जिल्ला निर्वाचन कार्यालय, धुलिखेलमा नाम दर्ता गर्नेको चहलपहल बढेको छ ।

नाम दर्ताका लागि काभ्रेपलाञ्चोक घर भएका तर विभिन्न क्षेत्रमा व्यापार, व्यवसाय गरेका बुटवल, पोखरा, काठमाडौँलगायतका क्षेत्रबाट पनि फोटोसहितको नाम दर्ताका लागि धुलिखेल आएको निर्वाचन अधिकारी मधुकरप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

उहाँले अब फोटोसहितको मतदाता नामावली दर्ताको काम स्थानीय तहलाई दिएपछि जिल्ला निर्वाचन कार्यालयमा भीड घटेको बताउनुभयो ।

जिल्ला निर्वाचन कार्यालयले साउन १ गतेबाट फोटोसहितको मतदाता नामावली संकलन थालेको थियो ।

जिल्ला निर्वाचन प्रमुख पोखरेलले १६ वर्ष उमेर पुगेका सबै नागरिकले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन पाउने बताउनुभयो । तर मतदान गर्न १८ वर्ष उमेरको हुनुपर्ने कानुनी प्रावधान छ । यसअघि जिल्लामा कुल दुई लाख ३० हजार ८४९ मतदाता रहेका थिए । रासस

 



प्रतिक्रिया दिनुहोस्