Logo

राजपा पदाधिकारी र केन्द्रीय समितिको बैठक साउन तेस्रो हप्ता



काठमाडौँ, ६ साउन । राष्ट्रिय जनता पार्टी नेपाल(राजपा)ले भावी रणनीति तय गर्न पदाधिकारी र केन्द्रीय समितिको बैठक यही साउन तेस्रो हप्ता बोलाएको छ ।

बिहीबार र आज(शुक्रबार)बसेको सो पार्टीको अध्यक्षमण्डलको बैठकले साउन १८ देखि २० गतेसम्म पदाधिकारी र साउन २१ देखि केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

केन्द्रीय कार्यसमतिको बैठकमा पार्टीसम्बद्ध वर्गीय संगठनका केन्द्रीय अध्यक्ष र पार्टी जिल्ला अध्यक्षमण्डलका अध्यक्षलाई समेत आमन्त्रित गरिने छ । आगामी असोज २ गते २ नं प्रदेशमा तय गरिएको स्थानीय तहको तेस्रो चरणको निर्वाचनलाई ध्यानमा राखी पार्टीले बैठक बोलाएको हो ।

अघिल्लो दुई चरणको निर्वाचन बहिष्कारका विषयमा सो पार्टीभित्र विवाद उत्पन्न भएको छ । राजपाका नेता हृदयेश त्रिपाठीलगायतले केन्द्रीय समितिको बैठक डाक्नुपर्ने माग राख्दै केही दिनअघि भैरहवामा पत्रकार सम्मेलन गर्नुभएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot