Logo

‘समानता र सामाजिक न्यायको सिद्धान्त नै कम्युनिष्टको मूल ध्येय’ : माधव नेपाल



काठमाडौँ, ६ साउन । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले राष्ट्रको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान गौरव गर्नलायक भएको बताउनुभएको छ ।

पुष्पलालको ३९ औँ स्मृति दिवसका अवसरमा आज यहाँ पेशागत महासंघ नेपालद्वारा आयोजित ‘समाजवाद र पुष्पलालका दृष्टिकोण’ विषयको विचार गोष्ठीमा उहाँले वामपन्थी आन्दोलन राष्ट्रको स्वाभिमान बचाउने आन्दोलन भएको बताउँदै भन्नुभयो, “कम्युनिष्ट राष्ट्रियताको पहरेदार हो, देशभक्तिको भावना कम्युनिष्टसँग जोडिएको छ, पुष्पलालले कलकत्ता र बेलायतको पुस्ताकालयसम्म पुगेर कम्युनिष्टको दर्शन अध्ययन गर्नुभएको थियो ।”

समानता र सामाजिक न्यायको सिद्धान्त नै कम्युनिष्टको मूल ध्येय भएको उल्लेख गर्दै उहाँले वैचारिक, सांस्कृतिक र आर्थिक रुपान्तरण गर्ने कुरालाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

गोष्ठीमा पुष्पलालका शिष्य लोककृष्ण भट्टराईले कार्यपत्र प्रस्तुत गर्दै सामन्तवादी र अधिनायकवादी सोचको अन्त्य गर्न कम्युनिष्टको जन्म भएको र पुष्पलालकै विचार र सिद्धान्तको आधारमा मदन भण्डारीले जनताको बहुदलिय जनवाद (जबज) को स्थापना गरेको उल्लेख गर्नुभयो ।

कार्यपत्रमाथि टिप्पणी गर्दै नेकपा (माओवादी केन्द्र) का नेता सुरेन्द्रबहादुर कार्कीले नेपालको वामपन्थी आन्दोलनमा पुष्पलापको मौलिक चिन्तन सामन्तवादको अन्त्य गर्ने मूल विषयमा कम्युनिष्ट आन्दोलनलाई कसरी ल्याउने भन्ने रहेको बताउनुभयो । नेकपा (संयुक्त) का नेता गणेश शाहले मुलुकमा समाजवादको स्थापना र विकासका लागि कम्युनिष्टहरू एक हुन आवश्यक छ भन्नुभयो ।

महासङ्घका अध्यक्ष विश्वनाथ प्याकुरेलले पुष्पलालको नेपाली कम्युनिष्ट इतिहास महत्वपूर्ण योगदान रहेको स्मरण गर्नुभयो । नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पुष्पलालको जन्म विसं १९८१ असार २५ गते रामेछापमा तथा मृत्यु २०३५ साउन ७ गते भारतमा भएको थियो । रासस (तस्बिर तथा श्रव्य सामग्री उपलब्ध छ)



प्रतिक्रिया दिनुहोस्