Logo

दोस्रो चरणकाे निर्वाचनमा ५९३८ युवा निर्वाचित



काठमाडौं ८ साउन । स्थानीय तहको दोस्रो चरणअन्तर्गत तीन सय २९ तहको निर्वाचनमा पाँच हजार नौ सय ३८ युवा प्रतिनिधि निर्वाचित भएका छन् । तीन सय ३४ मध्ये निर्वाचन आयोगमा हालसम्म पाँच स्थानीय तहको तथ्यांक आइसकेको छैन । दोस्रो चरणअन्तर्गत १, ५ र ७ नम्बर प्रदेशका तीन सय २९ तहमा १४ हजार आठ २४ जना निर्वाचत भएका छन् । निर्वाचित युवा जनप्रतिनिधिमा महिला र दलित महिला सदस्य बढी छन् । वडाध्यक्षमा निर्वाचित दुई हजार आठ सय ३८ मध्ये आठ सय ६८ मात्रै युवा उमेर समूहका छन् । तीन सय ३४ स्थानीय तहका लागि निर्वाचित १५ हजार ६८ जनप्रतिनिधिका लागि करिब ६४ हजारले प्रतिस्पर्धा गरेका थिए ।

महिला सदस्य बढी
खुला महिला सदस्यमा निर्वाचित जनप्रतिनिधि अधिकांश युवा छन् । २१ देखि ४० वर्ष उमेर समूहका एक हजार तीन सय ७९ महिला सदस्य निर्वाचित भएका हुन् । अन्य उमेर समूहमध्ये युवा उमेरमा निर्वाचित यो संख्या सबैभन्दा बढी हो । महिला सदस्यमा ४१ देखि ६० वर्ष उमेर समूहका एक हजार तीन सय ४९ जना निर्वाचित भएका छन् ।

४१ वर्ष उमेर कटेका सबैभन्दा बढी
निर्वाचन आयोगबाट प्राप्त तथ्यांकअनुसार ४१ देखि ६० वर्ष उमेरका सात हजार सात सय ६४ जना निर्वाचित भएका छन् । यो उमेर समूहका नगरपालिका प्रमुखमा ८० र उपप्रमुखमा ७० जना निर्वाचित भएका छन् । त्यसैगरी, गाउँपालिका प्रमुखमा एक सय ३८ र उपप्रमुखमा एक सय आठजना निर्वाचित भएका छन् । वडाध्यक्ष एक हजार सात सय आठ, महिला सदस्यमा एक हजार तीन सय ४९, दलित महिला सदस्यमा एक हजार एक सय १९ र खुला सदस्यमा तीन हजार एक सय ९२ जना निर्वाचित भएका छन् ।

६१ वर्ष नाघेका पनि प्रशस्त
निर्वाचन आयोगको तथ्यांकअनुसार ६१ वर्ष उमेर नाघेका प्रमुखमा १६ र उपप्रमुखमा तीनजना निर्वाचित छन् । गाउँपालिका अध्यक्षमा २४ र चारजना उपाध्यक्ष निर्वाचित भएका छन् । त्यसैगरी, वडाध्यक्षमा दुई सय ६२, महिला सदस्य एक सय १३, दलित महिला सदस्य एक सय २८ र खुला सदस्यमा पाँच सय ७२ गरी एक हजार एक सय २२ जना ६१ वर्ष उमेर नाघेका जनप्रतिनिधि छन् ।

महिला उपप्रमुखमा सीमित
स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा पनि महिला नै उपप्रमुखमा बढी निर्वाचित भएका छन् । नगरपालिका प्रमुखमा महिला एक, उपप्रमुखमा एक सय १०, गाउँपालिका प्रमुखमा तीन र उपप्रमुखमा एक सय ९९ जना निर्वाचित भएका छन् । वडाध्यक्षमा महिला २५ र खुला सदस्यमा एक सय १० जना निर्वाचित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot