Logo

कुनै समयको सञ्चार सेतु हुलाक किन भयो प्रभावहिन?



८ साउन, तेह्रथुम । सूचना र प्रविधिको विकाससँगै सर्वसाधारणमा हुलाक सेवा प्रभावहीन बन्दै गएको छ । अझै पनि सरकारी निकायमा हुलाकमार्फत चिठीपत्र आदानप्रदान गर्ने चलन भए पनि सूचना र प्रविधिका माध्यमबाट छिटोछरितो सञ्चारको आदान–प्रदान गर्न सकिने भएपछि सर्वसाधारणको त्यसतर्फ ध्यान जान छाडेको हो ।
हुलाकमार्फत चिठी आदानप्रदान गर्नेको संख्या बर्से्नि क्रमशः घट्दै गएको छ । टेलिफोन र इन्टरनेटको विकाससँगै हुलाकमार्फत चिठी पठाउनेको संख्या घटेको जिल्ला हुलाक कार्यालय तेह्रथुमका निमित्त प्रमुख रामलखन यादवले बताए ।
एकदशक अगाडिसम्मपनि कतिपयले हुलाकमार्फत चिठी पठाउँदै आए पनि हिजोआज सञ्चारको विकाससँगै हुलाकमार्फत पत्राचार कम भएको उनको भनाई छ ।
सरकारी कार्यालय, संघसंस्था तथा विद्यालय र एफएम रेडियोका चिठी अहिले पनि हुलाकमार्फत आउने गरेको तर व्यक्तिगत चिठी भने हुलाकमार्फत आदानप्रदान गर्ने चलन हराउँदै गएको हो ।
प्रविधिको विकासले सर्वसाधारणमा हुलाक सेवाप्रतिको धारणा नै बदलिएको चर्चा गर्दै निमित्त प्रमुख यादवले भने, “राज्यले पनि समयअनुसार हुलाकलाई विकसित गर्न सकेन, आवश्यक नीतिनियम र पूर्वाधारको विकाससमेत नगरिँदा आज हुलाक सेवा जनतामाझ प्रभावहीन जस्तै बनेको छ, अब हुलाक केबल सरकारी निकायका चिठीपत्रको कारोबारका लागि मात्र हो भन्ने दिन पनि नआउँलान् भन्न सकिन्न ।”

तेह्रथुममा एक जिल्ला हुलाकसहित नौ इलाका र २२ वटा अतिरिक्त हुलाकमा १५० कर्मचारी छन् ।

जिल्ला र इलाका हुलाक कार्यालयमा मात्रै हाल १०१ जनाको दरबन्दीमा ५९ जना मात्रै कार्यरत छन् । गएको तीन वर्षयता जिल्ला हुलाक कार्यालयमै कार्यालय प्रमुख छैनन् । कार्यालय प्रमुख नहँुदा कामकारबाही गर्न कहिलेकाहीँ समस्या भएपनि कामअनुसार कर्मचारीको व्यवस्थापन हुँदै आएको छ ।
जिल्ला हुलाक कार्यालयअन्तर्गत हाल हुलाक बचत बैंक र विभिन्न चार ठाउँमा टेलिसेन्टर सञ्चालनमा छन् । सदरमुकामस्थित हुलाक बचत बैंकमा हाल ९०२ निक्षेपकर्ताले रु एक करोड ३८ लाख ८३ हजार १२१ निक्षेप संकलन भएको छ ।
यस्तै कार्यालयले म्याङ्गलुङ्गसँगै बसन्तपुर, शुक्रबारे र मोराहाङमा टेलिसेन्टरमार्फत सुपथ मूल्यमा कम्प्युटर तालीम, फोटोकपि, फ्याक्स, इमेललगायतका सेवा प्रदान गर्दै आएको छ । रासस



प्रतिक्रिया दिनुहोस्