Logo

जारी काँग्रेसको केन्द्रीय समितिको बैठकमा आज बोल्ने नेताले के भने ?



काठमाडौँ, ८ साउन ।दुई दिनदेखि जारी काँग्रेसको केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकांध नेताहरुले पार्टी नेतृत्वप्रति प्रश्न उठाएका छन् ।

स्थानीय तहको चुनावमा पार्टी कमजोर भएको जिम्मेवारी पार्टी नेतृत्व लिनुपर्ने कुरा नेताहरुले उठाएका छन् । पार्टीभित्र अन्तरर्घात भयो भनेर पार्टीका सभापति जस्तो व्यक्तिले भनि पन्छेर नहुने भन्दै पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना भएको छ ।

शनिवार शुरु भएको बैठकमा सभापति देउवाले स्वयं पार्टीभित्र अन्तरर्घात भएको विषयलाई स्वीकार गर्दै यसपटकको चुनावमा यसप्रति सचेत रहने धारणा राखेका थिए । त्यसपछि बोल्ने अधिकाँश नेताहरुले पार्टी नेतृत्व जिम्मेवार हुनुपर्ने धारणा राख्दै सभापतिको आलोचना गरेको बैठकमा सहभागि एक केन्द्रीय सदस्यले बताए ।

आजको बैठकमा अहिलेसम्म नौजनाले आफ्नो कुरा राखेका छन् र अहिले ब्रेक भएको छ । केन्द्रीय सदस्यहरु दिलेन्द्र बडु, किरण यादव, केशव बहादुर बुढाथोकी, श्याम घिमिरे, रमेश लेखक, पुष्पपा भुसाल, इश्वरी न्योपाने, वीरबहादुर बलायरलगायतका नेताहरुले आआफ्नो धारणा राखेका छन् ।

केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले पनि चुनावमा पार्टी कमजोर हुनुमा अन्तर्घात र टिकट वितरण मात्र कारक नरहेको धारणा बैठकमा राखेका थिए ।

उनले संविधान निर्माण भएदेखि नै पार्टीले त्रुटी गर्दै आएको धारणा बैठकमा राखेका छन् । ‘संविधान निर्माणपछि पार्टीका तत्कालिन सभापतिले पुनः प्रधानमन्त्री बन्ने चाहना देखाउनु हुँदैन्थ्यो, प्रधानमन्त्रीमा उम्मेदवारी दिएर पार्टी नेतृत्वले त्यसबेला गल्ति गरेकै हो’, घिमिरेले बैठकमा राखेको कुरालाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘एमालेले मधेशलाई गाली गरेपछि राष्ट्रवादी हुने, काँग्रेसले तराई, पहाड हिमाल सबैलाई समेटेर हिँड्छ त्यो कसरी राष्ट्रघाती हुन्छ ? यो कुरा पनि पार्टीले स्पष्ट रुपमा जनता समक्ष राख्न सकेन ।’

त्यस्तै नेता बडुले पार्टीभित्रको आन्तरिक व्यवस्थापनमा बढी जोड दिएका थिए । चुनावमा पार्टी के कारणले कसरी कमजोर भए कहाँ कमजोर भए त्यो आफ्नो ठाउँको कुरा हो तर त्यसको मुख्य कारण पार्टीको आन्तरिक व्यवस्थापन नै रहेको धारणा राखेका थिए ।

 

देश संघीयतामा गइसकेपनि पार्टीको विधान पुरानै शैलीको रहेको धारणा पनि बैठकमा उनले राखेको बताइएको ।

केन्द्रीय सदस्य किरण यादवले पनि टिकट वितरण प्रणालीमा सुधार ल्याउनुपर्ने कुरा राखेकी थिइन् । जो सक्षम छ, जसले जित्ने सम्भावना बोकेको छ र जनतासँग घुलमिल छ उसैलाई टिकट दिनुपर्ने उनको जोड थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot