Logo

विकसित प्रविधिअनुसार सेवा प्रदान गर्नुपर्छः उपप्रधानमन्त्री महरा



काठमाडौँ, ८ साउन । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय सेवा प्रवाह गर्ने राहदानी विभागले विकसित प्रविधिअनुसार अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “विद्युतीय राहदानी जारी गर्ने सरकारको योजनालाई मूर्तरुप दिन सूचना प्रविधिको प्रचूर ज्ञान आवश्यक छ, धेरै चुनौती पार गर्दै अघि बढ्नुछ ।”

मन्त्री महराले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाउने पहिलो सरकारी निकाय राहदानी विभाग बन्नु गौरवको विषय हो भन्नुभयो । उहाँले कर्मचारीको लगनशीलता, कार्यकुशलता र गुणस्तरप्रतिको सचेतनाका कारण उपलब्धि हासिल भएको उल्लेख गर्नुभयो ।

मन्त्री महराले प्राप्त उपलब्धि जोगाउन र अझ उच्च स्थानमा पुग्ने लक्ष्यका साथ काम गर्न विभागका कर्मचारीलाई निर्देशन दिनुभयो । कर्मचारीको सीप, क्षमता र व्यावसायिक दक्षता अभिवृद्धि गर्न मन्त्रालयले अवसर उपलब्ध गराउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

परराष्ट्र सचिव शंकरदास वैरागीले पारदर्शिता, व्यावसायिकता र प्रभावकारिता वृद्धिको परिणामस्वरुप विभागले उक्त प्रमाणपत्र पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो उपलब्धि अन्य सरकारी नियकायका लागि पनि प्रेरणाको स्रोत हो ।” उहाँले सुधार निरन्तर हुने प्रक्रिया भएको र उपलब्धिसँगै महत्वपूर्ण जिम्मेवारी समेत थपिएको बताउनुभयो ।

राहदानी तयारी, प्रमाणीकरण, वितरण तथा यात्रा अनुमतिपत्र जारी गर्दा विभागले अन्तर्राष्ट्रिय मापदण्डअनुरुप सेवा प्रवाह गरेकामा अन्तर्राष्ट्रिय गुणस्तर संगठनले उक्त प्रमाणपत्र प्रदान गरेको हो । राहदानी विभाग अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र ‘आइएसओ ९००१ः २०१५’ पाउने पहिलो सरकारी निकाय हो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot