Logo

युवा सङ्घको महाधिवेशनको मिति तोक्न समिति



काठमाडाँै, ८ साउन । नेकपा (एमाले) निकट युवा सङ्घ नेपालले राष्ट्रिय महाधिवेशनको टुङ्गो लगाउन र प्रादेशिक संरचनाअनुसार सङ्गठन समायोजन गर्न सोही सङ्घका अध्यक्ष राजीव पहारीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।

सङ्गठनको स्थायी समितिको बैठकले सङ्घका नेता रमेश पौडेल, किरण पौडेल, नरेश शाही र हर्ष शाहीलाई सदस्यको जिम्मेवारी दिएको छ । बैठकले काठमाडौँ, पर्सा र सुनसरीमा सङ्गठनको पदाधिकारी छनोटमा देखिएका विवाद सुल्झाएको छ ।

समितिले सोमबारसम्म प्रतिवेदन तयार गरी सङ्गठनलाई बुझाउनेछ, त्यसैका आधारमा स्थायी समितिले महाधिवेशनको मिति घोषणा गर्ने केन्द्रीय कार्यालय प्रमुख प्रभातविक्रम कटुवालले जानकारी दिनुभयो ।

प्रत्येक तीन÷तीन वर्षमा हुनुपर्ने महाधिवेशन चार वर्ष पुग्न लाग्दा पनि नभएपछि असन्तुष्ट पक्षले महाधिवेशनको माग गर्दै आएको छ । सङ्घको ९ औँ महाधिवेशन गत वैशाखमा मिति निर्धारण गरिएको भएपनि स्थानीय तहको चुनाव भएका कारण हुन सकेको थिएन ।

शनिबारदेखि सुरु भएको स्थायी समितिको बैठकमा पार्टीलाई अहिले चौतर्र्फी घेराबन्दी भएको अवस्थामा पनि पार्टीले प्राप्त गरेको सफलताका आधारमा युवा सङ्घ संस्थागत रुपमा परिचालन भएको निष्कर्ष निकालिएको छ ।

स्थानीय तहका नगरपालिका तथा गाउँपालिकामा सङ्घमा आबद्ध करिब ६० युवाले सफलता प्राप्त गरेकाले उनीहरुको कार्यकालको सफलताको कामना गरिएको उक्त बैठक आज सकिने भनिएकोमा सोमबारसम्म लम्बिएको छ । उक्त बैठकले स्थानीय तहमा संगठन विस्तारमा दुःख गरेकालाई पार्टीले मूल्याङ्कन गरी टिकट नदिएका कारणले कतिपय स्थानमा पराजय भोग्न परेको ठहर पनि गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्