Logo

पौडेलले अन्ततः कोइरालाहरुलाई पाखा लगाए, यी हुन रामचन्द्रले बुझाएका चार मन्त्रीका नामहरु



काठमाडौं, १० साउन । प्रमुख दल नेपाली कांग्रेसभित्र मन्त्रालयको भागबण्डा नमिल्दा आज साँझसम्म हुने भनिएको मन्त्रिपरिषद विस्तार भोलि बुधबारका लागि सारिएको छ । तर बरिष्ठ नेता रामचन्द्र पौडेलले अन्ततः आफ्नो समूहबाट चार जनाको नाम अनुमोदन गरेर पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् ।

पौडेल निकट उच्च स्रोतका अनुसार उनले बुझाएका नामहरुमा सञ्जय गौतम (बर्दिया), रामकृष्ण यादव(धनुषा), राजन केसी(काठमाडौं), र यज्ञ थापा (काँस्की) रहेका छन् । पौडेल समूहबाट मन्त्री बन्ने रेसमा रहेका बलबहादुर केसी भने अन्तिममा आएर रिङ्आउट भएका छन् ।

हुन त पौडेलले कोइराला परिवारका नेताहरुलाई समेत यसपटक धोका दिएको खुलासा भएको छ । उनले आफू र नेता रामशरण महतसँगमात्रै आन्तरिक सहमति गरेका छन् ।

आज साँझ ५ बजेको लागि सपथ तोकिएको थियो । सोही अनुसार सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारले आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी हुनेहरुको नाम समेत बुझाएका थिए ।

तर प्रमुख दल नेपाली कांग्रेसभित्रको किचलोको कारण आज हुने भनिएको सपथ भोलिसम्मको लागि टरेको छ । उच्च स्रोतका अनुसार मन्त्रीहरुको सपथ भोलि विहान ९ बजे हुने भएको छ ।

स्रोतका अनुसार महामन्त्री शशांक कोइरालाले भने मन्त्री सिफारिशबारे कुनै सहमति जनाएका छैनन् । उनी यसबारेमा मौन रहेका छन् ।

प्रधानमन्त्री देउवाले आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरे पनि नेपाली कांग्रेसकै रामचन्द्र पौडेल पक्षले मन्त्री टुङ्गो लगाउन समय लगाएपछि बुधबार मात्र विस्तार हुने भएको हो। कांग्रेसको भागमा पर्ने १३ मन्त्रालय मध्ये पाँचमा पौडेल पक्षको दाबी छ। बालुवाटार स्रोतका अनुसार भोलि बिहानै मन्त्रिपरिषद्को विस्तार हुनेछ। कांग्रेस र माओवादी गठबन्धनबीच मन्त्रालय भागवण्डा पनि टुङ्गो लागेको छ।

सत्ता साझेदार नेकपा माओवादीले ९ मन्त्रालय पाउने भएको छ। हाल माओवादी केन्द्रले परराष्ट्र, गृह र सहरी विकास मन्त्रालय पाएको छ। अब थप उसले ऊर्जा, स्वास्थ्य, सामान्य प्रशासन, पशुपंक्षी, आपूर्ती र महिला तथा बालबालिका मन्त्रालय पाउने भएको छ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको नेतृत्व गरिरहेको विजय गच्छदारको फोरम लोकतान्त्रिकले पर्यटन र भूमीसुधार मन्त्रालय पाउने छ।

नेकपा संयुक्तले जनसंख्या तथा वातावरण मन्त्रालय पाउने भएको छ। नेकपा संयुक्तले मिथिला चौधरीलाई मन्त्री बनाउन सिफारिस गरिसकेको छ।

नेपाली कांग्रेसले हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सहित अर्थ, श्रम तथा रोजगार, शिक्षा मन्त्रालयको सम्हालिरहेको छ। अब उसले थप भौतिक पूर्वाधार, सञ्चार, सिँचाई, रक्षा, गरिबी निवारण तथा सहकारी, खेलकुद कानुन, कृषि, वाणिज्य र खानेपानि तथा सरसफाई मन्त्रालय पाउनेछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot