Logo

मन्त्री चयनमा रामचन्द्र पौडेलले कोइराला परिवारलाई फुस्स बनाएपछि कांग्रेसमा खैलाबैला !



काठमाडौं, ११ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपरान्ह मन्त्रिमण्डल विस्तार गर्दैछन् । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार आजै दिउँसो नयाँ मन्त्रिहरुको सपथ हुनेछ ।

प्रमुख दल नेपाली कांग्रेसभित्र पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवाको कोटामा ४ र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरलाई ४ मन्त्रालय दिएर भागबण्डा मिलाएको एक नेताले जानकारी दिए । त्यस्तै नेताद्धय कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्कालाई भने एक–एक मन्त्रालय दिईएको छ ।

बरिष्ठ नेता पौडेलले आफ्नो पक्षलाई सम्मानजनक मन्त्रालय नदिईए सरकारमा सहभागी नै नहुने चेतावनी दिएका थिए । पौडेलको उक्त चेतावनीले नै मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको थियो । हिजो साँझ पौडेल पक्षले चार मन्त्रालय लिनेगरि सहमति जनाएको थियो । त्यस्तै पौडेलले आफ्नो समूहबाट रामकृष्ण यादव(धनुषा), सञ्जय गौतम(प्युठान), यज्ञबहादुर थापा, (काँस्की), र राजन केसी(काठमाडौं) सरकारमा सहभागी हुने भएका छन् ।

पौडेलले कोइराला परिवारका कुनै पनि नेताहरुलाई समेटेका छैनन् । हालैमात्रै कोइराला नेताहरु क्रमशः महामन्त्री डा. शशांक कोइराला, केन्द्रिय सदस्यहरु द्धय डा. शेखर कोइराला र सुजाता कोइरालाहरु एक भएका थिए । तर, उनीहरुको मान्छेलाई नेता पौडेलले समेटनन् । यसबाट कोइराला नेताहरु रुष्ट बनेका छन् ।
त्यस्तै पार्टी सभापति देउवा पक्षबाट मीन विश्वकर्मा, अम्बिका बस्नेत, अर्जुनप्रसाद जोशी र बीरबहादुर बलायर सरकारमा सहभागी हुने पक्का भएको देउवा निकट उच्च स्रोतको दाबी छ

यता नेता कृष्णप्रसाद सिटौला पक्षबाट भीमसेनदास प्रधान र खुमबहादुर खड्का समूहबाट मोहनबहादुर बस्नेतको नाम अनुमोदन भैसकेको छ ।
सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले एक साता अघि नै मन्त्रीहरुको नाम टुँगो लगाईसकेको छ । माओवादीबाट गिरिराजमणि पोखरेल, महेन्द्रबहादुर शाही, टेकबहादुर बस्नेत, शिवकुमार मण्डल, सन्तबहादुर चौधरी, आशा कोइराला, सीता नेपाली मन्त्री बन्ने भएका छन् ।

कांग्रेस र माओवादी केन्द्रवीचको पछिल्लो सहमतिअनुसार कांग्रेसले रक्षा, सूचना तथा सञ्चार, भौतिक पूर्वाधार तथा यातायात, सिँचाइ, खानेपानी तथा सरसफाइ, कृषि विकास, सहकारी तथा गरिबी निवारण, कानुन, युवा तथा खेलकुद, वाणिज्य मन्त्रालय राख्ने भएको छ ।

त्यस्तै माओवादी केन्द्रले स्वास्थ्य, आपूर्ति, पशुपन्छी विकास, महिला बालबालिका तथा समाजकल्याण, ऊर्जा र सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछ ।

नेपाल फोरम लोकतान्त्रिकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, भूमिसुधार तथा व्यवस्था पाउनेछ भने नेकपा संयुक्तले जनसंख्या तथा वातावरण पाउनेछ । राप्रपाका लागि उद्योग, वन तथा भूसंरक्षण, विज्ञान तथा प्रविधि, शान्ति तथा पुनर्निर्माण छुट्याइएको छ ।

देउवाले गत जेठ २४ गते प्रधानमन्त्रीको शपथ लिएका हुन् । उनले सपथ लिएकै दिन तीन उपप्रधानमन्त्रीसहित ७ जनालाई सरकारमा सहभागी गराएका थिए । कांग्रेसबाट गोपालमान श्रेष्ठ उपप्रधान एवम् शिक्षामन्त्री, ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री, फर्मुल्ला मन्सुर श्रममन्त्री बनिसकेका छन् । त्यस्तै माओवादी केन्द्रबाट कृष्णबहादुर महरा उपप्रधान एवम् परराष्ट्रमन्त्री, जनार्दन शर्मा उर्जामन्त्री बनेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्