Logo

एक्सनमा सर्वेन्द्र खनाल, खाल्डो पुर्ने, वत्ती राख्नेदेखि जाम अन्त गर्ने महत्वाकांक्षी योजना



दीपेश केसी । समाचार विश्लेषण । महानगरीय ट्राफिक प्रहरीका आयुक्तको पत्र पाएलगत्तै कार्यालय पुगेका प्रस्तावित डिआइजी सर्वेन्द्र खनालले यातायात व्यवसायी, निजी विद्यालयसम्वद्ध संघ संस्थाका प्रतिनिधिसँग मङ्गलबार साँझ नै फोन गरी ट्राफिक कार्यालयमा छलफलका लागि आउन आग्रह गरे । खनाल ट्राफिक प्रहरीको आयुक्त भएको पत्तो समेत नपाएका व्यवसायीमध्ये कतिपय पदाधिकारी छक्क परे । मङ्गलबार सबैलाई खबर गर्न समय लाग्ने भएकाले अर्को दिनको समय मागे । तर, खनालले भोलि या पर्सि भनेर आफू नबस्ने भने । सबै पदाधिकारी जम्मा गर्न कठिन हुने भनेपछि बल्ल खनाल बुधबार सम्मको समय पर्खन तयार भए ।

बुधबार विहानैबाट ट्राफिक व्यवस्थापनमा ठोस कदम चाल्ने उद्देश्यसहित उनी काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई भेट्न पुगिसकेका थिए । लगत्तै निजी तया आवाशीय विद्यालयसम्बद्ध संघसंस्थाका पदाधिकारी र यातायात व्यवसायीसँग गम्भीर छलफल गरी काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन गरिछाड्ने महत्वाकांक्षी योजनामा साथ र सहयोगको आग्रह गरे ।

उनले स्पष्ट शब्दमा भने,‘ सडकमा हामीले दुःख पाइरहेका छौं, तपाईंहरूले दुःख पाइरहनुभएको छ, हाम्रो अघिल्लो पुस्ताले दुःख पायो र भावी पुस्ताले दुःख पाउनेछ । अब यसको अन्त गर्नुपर्छ सबैको साथ चाहियो ।’ ट्राफिक व्यवस्थापन गरीछाड्ने दृढ संकल्पसहित जिम्मेवारी सम्हालेको सुनाउँदै भने,‘म प्रतिज्ञाका साथ आएको छु, सबैको साथ लिएर ट्राफिक व्यवस्थापन गरिछाड्छु ।’

यस्तो छ योजना

सर्वेन्द्र खनालले सबैभन्दा पहिले सडक सबैको हो भन्ने भावना जगाउन खोजेका छन् । सबै भेटघाटहरूमा सडकप्रतिको जिम्मेवारी बढाउन नागरिकमा सचेतना र सक्रियताको भावना बढाउने योजना सुनाए । विद्यालय र कलेज तहका विद्यार्थीको प्रयासलाई प्राथमिकतामा राखेका छन् । त्यसबाहेक यातायात व्यवसायी र मजदूरहरू सडकसँग प्रत्यक्ष जोडिने भएकाले उनीहरूबाट ट्राफिक व्यवस्थापनको योजनाको पालना स्वतस्फूर्त हुने वातावरण तयार गर्न खोजेका छन् । उनले व्यवसायी र यातायात मजदूरलाई भने,‘लाठी र धम्कीले होइन सडकमा सहजता, स्वच्छता र सुरक्षा हाम्रै लागि हो भनेर नियमको पालना गर्नुहुनेमा आशावादी छु ।’ सडकमा यात्रु चढाउँदा र झार्दा जथाभावी रोक्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने भएका छन् ।

मुख्य चोक वरपर सवारी साधन रोक्न निषेध गर्ने नियमको पालना गराइछाड्ने योजना बनाएका छन् । लेन मिच्ने प्रवृत्ति रोक्ने देखि सडक सुरक्षामा विशेष ध्यान पु¥याउने भएका छन् । विद्यालय र कलेजका सवारीसाधनका लागि तोकिएको समय हेरफेरमा कुनै चासो लिएका छैनन् बरु विद्यालयका सवारी साधन पनि निश्चित ठाउँमा मात्र रोक्न पाउने नियमको पालना गराउने भएका छन् । त्यसमा विद्यालयसम्वद्ध संघ संस्थाका पदाधिकारी समेत सकारात्मक भएका छन् ।

सडक सुधार

सडकमा खाल्डाखुल्डी र साँघुरोपनमा सुधार गर्ने निकायसँग समन्वय गरी जिम्मेवारी सम्हालेको दिन देखिनै समस्या समाधानमा लागेका छन् । त्यसकै लागि महानगरपालिकाका पदाधिकारी देखि विकासे मन्त्रालयका अधिकारीहरूसँग कुराकानी गरिसकेका छन् । उनले महिनौं या वर्षौं पर्खेर खाल्डो पुर्नेमा नलाग्ने स्पष्ट पारिसकेका छन् । भरसक सरकारी निकायको बजेटबाट खाल्डो पुर्ने नभए व्यवसायी र सर्वसाधारणको सहयोगबाट भएपनि समस्या समाधान गर्ने योजना बनाएका छन् । उनले व्यवसायीसँग प्रश्न गरे,‘तपाईंहरूकै लागि सडक हो भने यसको सुधार र निर्माणमा तपाईंहरूकै योगदान र सहयोग आवश्यक छ, यसमा साथ दिनुहोस् ।’ व्यवसायीहरूले खनालको योजना सुनेर आफूहरू आवश्यक सहयोगका लागि तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।

ट्राफिक व्यवस्थापनका लागि यातायात व्यवसायीका प्रतिनिधि र ट्राफिक प्रहरी प्रमुखसहितको समिति समेत बनिसकेको छ । यस समितिले ट्राफिक जाम मात्र अन्त गर्न भूमिका खेल्ने नभई सडक सुधार र स्तरन्नोनतिमा समेत समन्वयकारी र आवश्यक परे भौतिक सहयोग समेतमा ध्यान दिनेछ । खनालले उत्साही हुँदै भने,‘तपाईंहरूको साथ र सहयोग भएमा उपत्यकाको सडकमा भएका खाल्डाखुल्डी एक महिनाभित्र पुरिनेछ ।’ सर्वसाधारणले धेरै दुःख व्यवहोरिसकेको र ज्यानै जाने सम्मका घटना भएकाले आफूले उपत्यकालाई खाल्डोरहित सडक बनाएरै छाड्ने अभियानलाई साकार बनाउने योजना सुनाए ।

ट्राफिक वत्ती

सडकमा ट्राफिक वत्ती ठडिएपनि काम गरिरहेको छैन । बेजात्रा बनेका ट्राफिक लाइटतर्फ संकेत गर्दै यातायात मजदूरहरूले त्यो कहिले बन्छ भनी सोधे । खनालले त्यसका लागि पनि योजना बनाएका छन् । जतिसक्दो छिटो ट्राफिक लाइट राख्ने योजना बनाएका छन् । यस योजनामा कुनै ढिलाई नगर्ने जुक्ति आफूसँग रहेको बताए । ट्राफिक लाइट भएमा जनशक्तिको खासै आवश्यकता नपर्ने भएकाले पनि यस योजनामा खनालको बढी ध्यान गएको हो ।
उपत्यकाका मुख्य चोकहरूमा सडकवत्ती भएपनि वर्षौं देखि मर्मत नहुँदा काम नलाग्ने भएको छ । एउटै चोकमा दश जनासम्म ट्राफिक प्रहरी बसेर ट्राफिक व्यवस्थापन गर्छन् । प्रविधिको युगमा देशको राजधानीमा सिठ्ठी फुकेर र हात हल्लाएर ट्राफिक व्यवस्थापन गर्नुपर्ने अवस्था लाजमर्दो हो । त्यसमाथि नेपाल भ्रमणमा आउने पर्यटकहरू सडकको अवस्था र जाम देखेर दिक्क हुनेगरेका छन् । त्यसप्रति सर्वेन्द्र निकै गम्भीर देखिन्छन् । उनी भन्छन्,‘हाम्रो इज्जत भनेको हाम्रो सडक हो जसको सुधारको खाँचो छ ।’

विदेशको ज्ञानको सदुपयोग

सर्वेन्द्र युएन मिसनदेखि विभिन्न तालिमका सिलसिलामा अमेरिका र यूरोपका शहर पुगेका छन् । त्यहाँको ट्राफिक व्यवस्थापनबारे समेत जानकार छन् । उनले भने,‘ट्राफिक व्यवस्थापनबारे विदेशमा तालिम लिने र दिने दुवै गरेको छु । त्यहाँ लिएको र बुझेको ज्ञानको सदुपयोग स्वदेशमा गर्नेछु ।’ हाल उपत्यकामा एकजना ट्राफिक प्रहरीले सरदर ८५० सवारी साधन व्यवस्थापन गर्नुपर्ने तथ्यांक छ । जुन निकै चुनौतीपूर्ण छ । तर, चुनौतीलाई अवसर देखेर काम गर्न खप्पिस खनालले भने,‘मसँग चुनौतीपूर्ण कामलाई सफल बनाउने इच्छाशक्ति छ ।’ आफू जिम्मेवार पदमा जति समय बसेपनि पल पलको ख्याल राखेर त्यसको सदुपयोग गर्ने बताए । पदभन्दा पदको मर्यादा अनुसारको कार्य गर्नु महत्वपूर्ण हो भन्ने मान्यताका साथ काम गर्दै आएको छु ।

सडकमा अनियमितता

सडक अनियमितताको क्षेत्र बन्दै आएको छ । यातायात व्यवसायी र मजदूरको गलत क्रियाकलाप र त्यसैलाई देखाएर ट्राफिक प्रहरीले घूस खाने सम्मको घटनाहरू धेरै भएका छन् । ट्राफिक नियम उल्लंघन गर्नेलाई गरिने जरिवानावापत् प्रहरीलाई कमिशन दिएर यातायात व्यवस्थापनको प्रयोग समेत भयो । त्यसले झनै विकृति ल्यायो । सडक यातायात व्यसायी र ट्राफिक प्रहरीबीच द्वन्द्वको अखडा समेत बन्यो । एउटाले पाएमा चुस्ने र अर्कोले पाएसम्म नियम मिचेर उन्मुक्ति पाउन झै झगडा सम्म गर्ने देखियो । अब सडक द्वन्द्वको अखडा नभई मेलमिलापका साथ निर्माण र सुधारको क्षेत्र बनाउनुपर्ने चुनौती छ । खनालले सडकमा प्रत्यक्ष जोडिएका व्यवसायी, मजदूर र सर्वसाधारण समेतको सहभागितामा सुधारको योजना ल्याएका छन् ।

सडक सहज होला?

सर्वसाधारण सकभर सडकमा आउन चाहँदैनन् । अधिकांश सडकको अवस्था दयनीय छ । वर्षामा हिलो र घाम लागे धुलो । प्रदूषणको केन्द्र बनेको छ सडक । यातायातबाट हुने ध्वनी प्रदूषण, वायु प्रदुषण र जामले ल्याउने दिक्कलाग्दो अवस्थाको अन्त जरूरी छ । राजधानीको सडकले देशको इज्जत राख्न सकेको छैन । सडकमा बढी समय बिताउने जो कोही रोगको शिकार हुने सम्भावना बढी छ । यस्तो अवस्थामा परिवर्तन ल्याउन इच्छाशक्ति चाहिन्छ नै काममा अवरोध गर्नेहरूको सामना गर्न उत्तिकै कठिन छ । खनालले कस्ले के भन्ला, रिस गर्ला या अवरोध गर्ला भनेर नरोकिने दृढता सुनाएका छन् ।

आफू महल ठड्याउने र विलासी जीवन बिताउने स्वभावको नभएकाले जिम्मेवारीमा रहँदा देशका लागि राम्रो काम गरेर देखाउने प्रतिज्ञा गर्छन् । उनी भन्छन्,‘यो प्रयासमा सबैको साथ मिल्नेमा ढुक्क छु किनभने सडक सबैको हो र सबैको प्रतिष्ठाको विषय हो ।’ राजधानीको सडकलाई सुन्दर, सहज र उदाहरणीय बनाउने अभियानमा सर्वेन्द्रको अन्तरमन देखिको उद्देश्य सुनेर बुधबार उनलाई भेट्ने शिक्षक, मजूदर देखि व्यवसायीसम्मले हातमा हात मिलाएर गएका छन् । सर्वेन्द्रको विगतका कार्यशैली केलाउँदा काममा लागेपछि फत्ते गरेरै छाड्ने छ । आशा गरौं काठमाडौं उपत्यकाको सडकलाई सहज, जामरहित र स्वच्छ बनाउने अभियान सफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस्