Logo

केही दिनभित्रै कृषिसम्बन्धी नयाँ कार्यक्रम तथा रणनीतिहरु ल्याउँदैछु : मन्त्री यादव



काठमाडौं, १६ साउन । कृषिमन्त्री रामकृष्ण यादवले आफूले केही दिनभित्रै कृषिसम्बन्धी नयाँ कार्यक्रमहरु सार्वजनिक गर्ने बताउका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री यादवले कृषि क्षेत्रलाई सवल, सुदृढ र उत्पादनमुखी बनाउनको लागि आफूले केही दिनभित्रै नयाँ कार्यक्रमहरु सार्वजनिक गर्ने बताएका हुन् । उनले भने,‘कृषि क्षेत्र राम्रो भयो भने मुलुकको आर्थिक क्षेत्रपनि सवल हुन्छ, त्यसैले यो क्षेत्रलाई सवल र उत्पादनमुखी बनाउनको लागि मैले छिट्टै अल्पकालिन, मध्यकालिन र दिर्घकालिन नीति तथा योजनाहरु सार्वजनिक गर्दैछु, म पनि किसानको छोरा हुँ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले नेपाल कृषि प्रधान देश भएकोले कृषिको व्यवस्थापन गर्नु ठूलो दायित्व भएको बताए । उनले भने,‘म पनि किसानको छोरा हुँ, किसानका समस्याहरु मलाई पनि राम्रोसँग थाहा छ, किसानलाई मल खाद्य उपलब्ध गराउनेछु।’ उनले कृषि मन्त्रालयमा विद्धान, वैज्ञानिक तथा विज्ञहरुको उपस्थिति राम्रो भएकोले हामी किसानमुखी योजनाहरु अघि सार्ने विश्वास दिलाए ।

मन्त्री यादवले किसानलाई तत्काल राहत पुग्नेगरि आफूले कार्यक्रम ल्याउने स्पष्ट समेत पारे । उनले तराई मद्देशको विभिन्न जिल्लाहरुमा ५० प्रतिशतमात्रै खेती भएकोले अब यसलाई बढाउनको लागि आफूले सिँचाई लगायत अन्य कुराहरुमा समेत विशेष ध्यान दिने जनाए । उनले सुख्खा क्षेत्रमा तत्कालै आवश्यक सहयोग गर्ने तयारी भैरहेको समेत जनाए ।

उनले आफ्नो कार्यकालमा किसानहरुले परिवर्तनको अनुभुति पाउने विश्वास दिलाए ।

फरक प्रसँगमा उनले भने संविधान संशोधनको लागि आफ्नो पार्टीले हर प्रयास गरिरहेको जनाए । उनले भने,‘संविधानलाई सर्वस्विकार्य बनाउनको लागि राजपा लगायत असन्तुष्टहरुको माँग सम्बोधन गर्न हाम्रो पार्टीले सक्दो प्रयास गरिरहेको छ, विभिन्न सरोकारवालाहरुसँग गम्भिर छलफल गरिरहेको छ, राजपाको माँग सम्बोधन गर्न कांग्रेसले सुरुदेखि नै पहल गरेको हो।’

त्यस्तै उनले प्रदेश नम्बर २ मा असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पनि राजपाले सहभागी जनाउने विश्वास दिलाए । २ नम्बर प्रदेशको स्थानीय तहको निर्वाचनमा पनि आफ्नो पार्टीले राम्रो नतिजा ल्याउने दाबी गरे । उनले थपे,‘जनताले कांग्रेसलाई विश्वास गर्नुभएको छ, त्यसैले हाम्रो पार्टीले चुनावमा राम्रो नतिजा ल्याउँछ।’

मन्त्री यादवले संशोधन प्रस्ताव पास हुने समेत स्पष्ट पारे । उनले भने,‘यतिका दिनसम्म संशोधन प्रस्ताव पारित नहुनुको प्रमुख कारण भनेको नै हामीसँग दुई तिहाई नहुनु हो, एमालेले प्रस्तावमा सहयोग नगर्दा पारित हुन ढिलाई भएको हो।’ यद्धपी उनले उक्त संशोधन प्रस्तावलाई पारित गराउनको लागि प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले र राप्रपालाई विशेष आग्रह गरिरहेको जनाए ।

कार्यक्रममा रिपोर्टर्स क्लब नेपालले मन्त्री यादवलाई बधाई तथा सफलताको शुभकामना दिएको थियो ।

त्यस्तै क्लबका सभापति ऋषि धमलाले मन्त्री यादवलाई जनतालाई तत्काल राहत पुग्ने र कृषि क्षेत्रमा आमूल परिवर्तन गर्नेगरि परिणाममुखी काम गर्न सुझाव दिए । उनले भने,‘अब भाषणा होईन, किसान जनताहरुको मन जित्नेगरि एक्शन ओरियन्टेड काम गर्नुहोस, मेरो पूर्ण साथ र सहयोग रहन्छ।’



प्रतिक्रिया दिनुहोस्