Logo

जनकपुरधामको विकासका लागि सरकार गम्भीर छ : मन्त्री साह



महेन्द्रनगर (धनुषा), १७ साउन । शहरी विकास तथा भवन निर्माण मन्त्री प्रभु साहले जनकपुरधामको विकासको लागि जनकपुरवासी इमान्दारीपूर्वक एकजुट हुनु आवश्यक रहेको बताउनुभएको छ ।

मन्त्री साहले जनकपुरधामलाई पर्यटकीय नगरी बनाउन र यसको विकासका लागि सरकार गम्भीर रहेको बताउनुभयो । जनकपुरस्थित विभिन्न ताल तलैयाको आज शिलान्यास र उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले जनकपुरधामलाई धार्मिक तथा पर्यटकीय नगरको रुपमा विकास गर्न हरसम्भव प्रयास गर्ने बताउनुभयो ।

उहाँले जनकपुरको महाराज सागर पोखरी, नोचा ठाकुर पोखरीको घाट निर्माण तथा मणि मण्डपको शिलान्यास, जानकी चोकस्थित अंगराज सर–सागर पोखरीको घाट निर्माणको उद्घाटन गर्नुभयो । उहाँले मणि मण्डपको संरक्षणका लागि रु ८० करोडको गुरुयोजना तयार पारिएको र संरक्षणका लागि तत्काल रु दुई करोड विनियोजन गरिएको जानकारी दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्