Logo

भारत भ्रमण जानुपुर्व नै संशोधन प्रस्ताव पारित गरेर चमत्कार गर्ने देउवाको घोषणा



काठमाडौं, १७ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमण अघि नै संविधान संशोधन प्रस्ताव पारित गरेर देखाउने बताएका छन् ।

आफू निकट केही शीर्ष नेताहरुसँगको गोप्य छलफलमा प्रधानमन्त्री देउवाले आफूले अब भारत जानुअघि नै संशोधन प्रस्ताव पारित गराएर चमत्कार गर्ने बताएको स्रोतको दाबी छ । उनले भने,‘हेर्नुहोस, म चमत्कार गरेर छाड्छु, भारत भ्रमणमा जानु पहिले नै संशोधन प्रस्ताव पारित हुन्छ, संशोधनको लागि चाहिने दुई तिहाई मत मैले जुटाईसकें।’

छलफलमा जुटेका नेताहरुले के चमत्कार गर्नुहुन्छ, चमत्कार गर्छु भनेर त माओवादी केन्द्रका अध्यक्ष एवम् तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले पनि भनेकै थिए नि तर गर्न सकेनन भनेर सोधेको प्रश्नमा देउवाले गम्भिर भएर भने,‘प्रचण्डजीको साथ मलाई छ, म संशोधन गराएरै छाड्छु, म सँग दुई तिहाई पुग्यो, यसलाई अहिले म सेक्रेट राख्छु।’

यता श्रममन्त्री समेत रहेका कांग्रेस नेता फर्मुल्ला मन्सुरले पत्रकार ऋषि धमलासँगको कुराकानीमा भने,‘भारत भ्रमणमा जानु अघि नै प्रधानमन्त्रीले संशोधन प्रस्ताव पारित गराउने तयारी गर्नुभएको छ, मलाई लाग्छ उहाँ उता जानुभन्दा पहिले नै संशोधन प्रस्ताव पारित होला।’

प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ ७ गते भारत भ्रमणमा जाने भएका छन्। भारतमा उच्च तहमा भेटघाट हुने गरी मिति तय भएको भारतीय स्रोतले जनाएको छ।

भ्रमणका बाँकी तालिना तथा एजेण्डा भने तय हुन बाँकी रहेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot