Logo

राजपा पनि चुनावमा आउने वातावरण बनाउनुपर्छ : कमल थापा



लहान, १७ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तेस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) लाई पनि सहभागी हुने वातावरण बनाउनुपर्ने बताउनुभएको छ ।

राप्रपा सिरहाले आज लहानमा आयोजना गरेको पार्टीका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले भन्नुभयो– “तेस्रो चरणअन्तर्गत हुने सथानीय तह निर्वाचनको समय डेढ महिना मात्र बाँकी रहँदा पनि राजपा चुनावमा जाने नजानेबारे कुनै टुंगो लाग्न नसक्दा मतदाता अन्यौल रहेकाले सरकारले तत्काल विश्वासिलो वातावरण बनाउनुपर्छ ।”

अध्यक्ष थापाले सत्तारुढ दलको स्वार्थ र नियतकै कारण राजपा सरकारमा आउने वातावरण बन्न नसकेको आरोप लगाउँदै उहाँले वर्तमान सरकार मधेसको समस्या समाधान गर्न र संविधान कार्यान्वयन गर्न गम्भीर नभएको बताउनुभयो ।

कांग्रेस र माओवादीले नै आन्दोलनरत राजपालाई चुनावमा ल्याउन नचाहेको आरोप लगाउँदै उहाँले राजपा चुनाबमा नआए मुलुक गम्भीर संकटमा फस्ने धारणा व्यक्त गर्नुभयो ।

अध्यक्ष थापाले मधेशमा सानो आकारमा देखिएको विखण्डनकारी र अतिवादी सोच भएका समूहलाई निरुत्साहित बनाउन पनि संविधानभित्रै अधिकार र पहिचान खोजिरहेका राजपालाई चुनावमा ल्याउनु जरुरी रहेको बताउनुभयो । रासस

 



प्रतिक्रिया दिनुहोस्