दीपेश केसी । भरतपुर महानगरपालिका—१९ मा सर्वोच्च अदालतले पुनः मतदान गर्ने फैसला सुनायो । निर्वाचन आयोगले साउन २० को मिति पनि तोक्यो । मतपत्र च्यातिएकै हुन्थ्यो, मानौं, यो चुनावमा देवी ज्ञवालीका ठाउँमा नेपाली काँग्रेसको उम्मेदवार हुन्थे र माओवादी केन्द्र र एमालेबीच चुनावी तालमेल भएको हुन्थ्यो । त्यतिबेला एमालेका कार्यकर्ताको निर्णय कस्तो हुन्थ्यो । यो एउटा परिकल्पना भएपनि सोचनीय विषय हो । नेपाली राजनीतिमा नेताको जस्तोसुकै निर्णयलाई पनि कार्यकर्ताले अन्धभक्त भएर शिरोधार्य गर्ने परम्परा हटेको छ÷छैन मापन गर्ने समय आएको छ । त्यसैले पनि यो परिकल्पनामा मात्र सिमित नराखी भविष्यमा आउने राजनीतिका गलत प्रवृत्तिलाई रोक्न पनि विचारणीय विषय बनेको छ । प्रश्नहरू सोधिनैपर्छ र कुन दलका समर्थक कति विवेकशील भन्नेबारे निक्र्यौल गर्नैपर्छ ।
लिट्मस टेष्ट
भरतपुरको मतपत्र च्यातिएपछि नेपाली काँग्रेसका कार्यकर्ता देखि काँग्रेसलाई मतदान गर्दै आएका समर्थकहरू पनि माओवादीप्रति सन्तुष्ट छैनन् । पार्टीले जित्नसक्ने स्थानमा माओवादी अध्यक्ष प्रचण्डकी छोरी रेणु दाहाललाई समर्थन गरेर उम्मेदवारी केन्द्रको पत्रद्वारा फिर्ता गराइएको घटनाले कार्यकर्ता नेतृत्वप्रति असन्तुष्ट छन् । तैपनि, काँग्रेस कार्यकर्ताले धैर्यता देखाए । नेतृत्वको निर्णयलाई ब्यालेटबाट जवाफ दिने गरी प्रस्तुत भए । काँग्रेस समर्थकहरू पार्टी नेतृत्वको निर्णय कानुनको अक्षरंश पालना गरेजस्तो गर्नुपर्छ भनेर बसेनन् । विवेकको प्रयोग गरे ।
हालसम्म भरतपुरको मतगणना भएको नतिजालाई अध्ययन गर्ने हो भने उनीहरूले पार्टी निर्णयलाई ठाडो चुनौती दिएका छन् । देवी ज्ञवालीले ल्याएको मतमध्ये धेरै काँग्रेस समर्थकको पनि हो भन्ने प्रष्ट भइसकेको छ । काँग्रेसका धेरै समर्थकले माओवादीको गोलाकार भित्रको हँसिया हथौडालाई मत दिएनन् । अब हुने चुनावमा आउने नतिजा पछिल्लो ट्रेन्डले आँकलन गर्न सकिन्छ ।
भरतपुरका जनताले साउन २० गते मतदान गरी मतपत्र च्यात्नेलाई सवक सिकाउने देखिदैछ । भरतपुरका काँग्रेस कार्यकर्ता र समर्थकको सामाजिक सञ्जालको पोष्ट हेर्ने हो भने पनि रेणुको जीत वा हारभन्दा पनि जनताको अमूल्य मतको उपहास गर्ने गरी मतपत्र च्यात्नेहरूलाई गतिलो पाठ सिकाउने अवस्था विकास हुँदैछ । लोकतान्त्रिक मूल्य र मान्यताको रक्षाका लागि भएपनि काँग्रेस कार्यकर्ताले लोकतान्त्रिक हुनुको परिचय दिदैछन् ।
भरतपुरमा देवी ज्ञवाली जितेभने उनले पहिलो धन्यवाद नेपाली काँग्रेसका कार्यकर्तालाई दिनुपर्नेछ । किनकि, उनले जित्नका लागि तिनै कार्यकर्ता र समर्थकको मत पाउनुपर्नेछ । नेपाली राजनीतिमा अबको तीन दिन गजबको घटना देखिनेछ । एमालेका उम्मेदवारले काँग्रेस कार्यकर्ता र समर्थकको मतबाट जित दर्ता गर्नुपर्ने अवस्था बनेको छ । रेणुले जितिन् भने काँग्रेसले लगाएको तिरिनसक्नुको ऋण बन्नेछ । जसले जितेपनि काँग्रेस समर्थक र कार्यकर्ता धन्यवादको पात्र बन्नेछन् । रेणुले जितिन् भने नेपाली राजनीतिमा गलत संस्कार स्थापित हुन सक्ने खतरा छ । यसकारण भरतपुर—१९ का जनताका लागि लिट्मस टेष्ट बनेको छ । जनताको अदालतको शक्ति र सामथ्र्य प्रमाणित गर्ने क्षण आएको छ । जसमा सिंगो देश र अन्तर्राष्ट्रिय जगत्को समेत ध्यान गएको छ ।
देवी काँग्रेस भएको भए
देवी ज्ञवाली एमाले उम्मेदवार हुन् । यदि उनी काँग्रेस उम्मेदवार हुन्थे, एमाले र माओवादी मिलेर चुनाव लडेका हुन्थे र मतपत्र त्यसरी नै माओवादी कार्यकर्ताले च्यातेका हुन्थे भने एमाले कार्यकर्ताको निर्णय के हुन्थ्यो ? यो प्रश्न सोधिनुपर्छ र अहिले देखि नै खोजिनुपर्छ । राजनीतिमा यस्ता घटना घटिरहन्छन् र पार्टीका कार्यकर्ता र समर्थकबाट लिइने निर्णयले पार लाग्छ । पार लाग्दा असल संस्कार मात्र स्थापित हुँदैन कुसंस्कारले पनि जरा गाड्न सक्छ ।
भरतपुरका मात्र नभएर सिंगो देशका काँग्रेस कार्यकर्ताले एमालेका कार्यकर्तालाई यही प्रश्न सोधुन् । हाम्रो स्थानमा तिमीहरू भएको भए देवीलाई मत दिन्थ्यौ कि रेणुलाई ? यो प्रश्नको उत्तर स्वयं एमालेका कार्यकर्ताका लागि पनि सहज छैन । परम्परागत कम्युनिष्ट संस्कारमा हुर्किएका धेरै एमाले कार्यकर्ताका लागि काँग्रेस नाम मात्र सुन्दा घृणा जाग्ने तीतो सत्य हो । उनीहरूलाई सिकाइएको त्यस्तै हो । काँग्रेस भनेको सामन्त, पूँजीपतिको पार्टी हो भनी कम्युनिष्टहरूको प्रशिक्षणमा सिकाउने गरिन्छ । कम्युनिष्टहरूको दस्तावेजमै त्यस्तो उल्लेख छ । त्यसैले, एमालेले माओवादीलाई मत हाल्न सहज मान्छ र माओवादीले एमाले समर्थकलाई मतदान गर्न सहज मान्छ । तर, काँग्रेस उम्मेदवारलाई कम्युनिष्ट उम्मेदवारले मतदान गरेको सायदै होला ।
काँग्रेस समर्थकहरूमा जति लोकतान्त्रिक आचरण विकास भएको छ त्यति कम्युनिष्ट कार्यकर्तामा विकास भइसकेको छैन । भरतपुर घटना एउटा लिट्मस टेष्ट हो । यसैबाट काँग्रेस र कम्युनिष्टको आचरणमा फरक देखिने गर्छ । यहाँ कम्युनिष्ट कार्यकर्तालाई होच्याउन खोजिएको होइन । उनीहरू पनि नेपाली हुन् । तर, जे जस्ता प्रशिक्षण र स्कुलिङ्ग हुन्छ त्यसले उनीहरूमध्ये धेरैको विवेकलाई बन्धक बनाइदिन्छ ।
पंक्तिकार ठोकुवाका साथ भन्छ—भरतपुरमा काँग्रेस कार्यकर्ताको स्थानमा एमाले कार्यकर्ता हुँदो हुन् त रेणु दाहाललाई अहिले नै टीका लगाइदिए हुन्थ्यो । पार्टीको जस्तोसुकै आदेश, चाहे त्यो राम्रो होस् या नराम्रो नै नि नहोस्, अझै पनि कम्युनिष्ट कार्यकर्ताले शिरोधार्य गर्छन् । जुन काँग्रेस वा अन्य डेमोक्रयाट पक्षधरले गर्दैनन् । सहीलाई सही र गलतलाई गलत मानेर विवेकको प्रयोग गर्ने हिम्मत र उदारता डेमोक्रयाटसँग बढी हुन्छ । मतदानको बखत डेमोक्रयाटहरू उदार हुन्छन् । भिन्न दलको भएपनि क्षमतावान् र सही उम्मेदवारलाई मत दिन तयार हुन्छन् । यसलाई कतिपयले अनुशासनहीन भन्लान् तर यही सच्चा लोकतान्त्रिक आचरण हो । जुन कम्युनिष्ट कार्यकर्तामा विरलै पाइन्छ । जबसम्म नेपालका कम्युनिष्ट कार्यकर्ताले मतदानको बखत विवेक प्रयोग गरी उदारता देखाउने संस्कार स्थापित गर्न सक्दैनन् तबसम्म राजनीतिमा गलत मानिसहरू हावी भइरहने अवस्था बन्छ । मतपत्र च्यात्ने कार्यकर्ता उत्पादन भइरहन्छन् ।