साउन २२, भरतपुर । भरतपुर महानगरपालिकाको मेयर पदमा विजयी भएकी रेणु दाहालले महिलाका समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएकी छिन् ।
समृद्ध र व्यवस्थित महानगरपालिका बनाउनका लागि सबै दलसँग हातेमालो गरेर अघि बढ्ने बताएकी दाहालले जनताको मतबाट मेयर पदमा निर्वाचिन भएर पुष्पकमल दाहालको छोरीबाट जनताको मेयर बन्न सफल भएको बताइन् । जनताले विश्वास गरेर मत दिएको बताउँदै उनले बाबु–छोरीको सम्बन्धका कारण राजनीतिमा अगाडि बढेको भन्ने कतिपयको आरोप गलत साबित भएको बताईन् ।
दल विशेषबाट चुनाव लडे पनि अब आफू सबैको साझा भएको भन्दै उनले आफूमात्र नभई सम्पूर्ण नगरबासी विजयी भएको बताइन् । दाहालले सबैको रचनात्मक साथ, सहयोग र समर्थन पाउने विश्वास समेत व्यक्त गरेकी छिन् ।
उनले पहिलो काम महिलाको पक्षमा गर्ने बताएकी छिन् । मेयर र उपमेयर पनि महिला भएकोमा खुशी व्यक्त गर्दै दाहालले महिलाको पक्षमा पहिलो काम गर्ने प्रतिबद्धता जनाएकी हुन् । महानगरका स्रोतसाधनको अधिकतम उपयोग गरी विकास निर्माणलाई तीव्रता दिने उनको योजना छ ।