Logo

धेरैपछि ओली भारतीय दुतावास छिर्दै, भारतसँगको सम्बन्धको नयाँ अध्याय सुरु गर्दै !



काठमाडौं, २३ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धेरैपछि काठमाडौंस्थित् भारतीय राजदुतावास छिर्दैछन् । ओली निकट उच्च स्रोतका अनुसार अध्यक्ष ओलीले धेरैपछि भारतीय दुतावास जाने निधो गरेका छन् ।

ओली आफू प्रधानमन्त्री हुँदा भारतसँगको सम्बन्ध अत्यन्तै कठिन मोडमा पुगेको थियो । उनकै पालामा नेपालले भारतीय नाकाबन्दीको समेत सामना गर्नुपरेको थियो । यो विचमा उनले भारतसँग निकै खुलमखुल्ला अभिव्यक्ति समेत दिएका थिए ।

उनले भारतले नेपालको राजनीतिमा हस्तक्षेप गरेको भन्ने आशयको अभिव्यक्ति दिएर चर्चामा आएका थिए । कुनै बेला तत्कालिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रुकमांगत कटवाल प्रकरणबाट राजिनामा दिनुपरेपछि पनि भारतलाई खुल्ला रुपमा गाली गरेका थिए । उनले भारतसँग सुरुङ युद्ध छेड्ने समेतको चेतावनी दिए । तर पछि उनले भारतसँगको सम्बन्ध आफूलाई निकै महँगो सावित भएको भन्दै विभिन्न च्यानलबाट सम्बन्ध सुमधुर बनाएका थिए ।

प्रचण्डपछि भारतसँगको सम्बन्ध उतारचढावमा देखिए एमाले अध्यक्ष ओली । आफू प्रधानमन्त्री हुँदा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीवीच त्यति राम्रो सम्बन्ध थिएन । नवौं महाधिवेशनबाट अध्यक्ष बन्दा, संसदीय दलको नेतामा निर्वा्चित हुँदा र प्रधानमन्त्री बन्दासमेत एमालेमा मोदीसँग ओलीको जति सुमधुर सम्बन्ध अरु कुनै नेताहरुको थिएन् भन्नेहरुको कमी थिएन ।
ओली भारतसँग राम्रो सम्बन्ध भएको नेताका रुपमा परिचित थिए । तर संविधान जारी हुनुभन्दा पहिले चार पार्टी्विच भएको १६ बुँदे सम्झौताले उनको भारतसँगको सम्बन्धमा चिसोपना ल्याईदिएको धेरैको विश्लेषण थियो ।

संविधान जारी गर्ने पूर्वसन्ध्यामा मोदीको विशेष सन्देश लिएर नेपाल ओर्लेका भारतीय विदेशसचिव सुव्रमन्यम जयशंकरसँगको झण्डै साँढे तीन घण्टा लामो वान टु वान छलफलमा ओलीले संविधान अलिदिन पछि सारेर जारी गर्ने भारतीय पक्षको सन्देशलाई ठाडै अस्विकार गरिदिएका थिए । त्यही कारणले उनको भारतसँगको सम्बन्ध विग्रिएको हो भन्नेहरुको कमी छैन । उक्त बैठकमा ओली र विदेशसचिव जयशंकरवीच चर्काचर्की नै परेको कुरा मिडियामा नआएका होईनन् । तर त्यतिमै मोदी र ओलीको सम्बन्ध विग्रिहाल्छ भनेर धेरैले सोचेका थिएन् । विडम्वना ओलीको भारतसँगको सम्बन्ध त्यहीँबाट विग्रियोे ।

संविधान जारी भएपछि त झनै ओली–मोदी सम्बन्धमा दरार उत्पन्न भयो । संविधान जारी हुनुपुर्व चिसिएको सम्बन्ध संविधान जारी भएपछि उत्कर्षमा पुगेको विश्लेषकहरुले बताएका थिए । संविधान जारीपछि ओलीलाई भारतले त्यति रुचाएन् ।

भारत भ्रमणबाट फर्किएपछि त उनको मोदीसँग कुरै नभएको स्रोतको दाबी छ । यद्धपी उनले मोदीसँग सम्पर्क भने नगरेका होईनन् । उनले पटक पटक आफ्ना दुतहरुमार्फत मोदीसँग सिधा सम्पर्कका लागि प्रयास जारी राखेपनि ओली सफल हुन नसकेको बुझिएको थियो । यो विचमा उनले सरकारकै तर्फबाट उपप्रधान एवम् पराष्ट्रमन्त्री कमल थापालाई मोदीसँग सम्बन्ध सुधारका लागि बारम्बार भारत पठाए, तर परिणाम सन्तोषजनक आएन ।

त्यसपछि ओलीले भारतीय दुतावासको कार्यक्रममा समेत सरिक हुन छोडिदिएका थिए । तर यो पटक भने नयाँ राजदुत मञ्जिवसिंह पुरीले ओलीसँगको सम्बन्ध सुमधुर बनाएका छन् । ओलीलाई भेट्न राजदुत पुरी पटक पटक ओली निवास बालकोट नै पुग्ने गरेका छन् । यही अगष्ट १५ मा हुने भारतीय स्वतन्त्रता दिवसमा ओलीलाई विशेष निम्तो दिएका राजदुत पुरीलाई ओलीले आफू उक्त कार्यक्रममा आउने वचन दिएका छन् । ओलीको लागि दुतावासले नेपालमा भ्रमणमा रहने भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग लञ्च मिटिगको व्यवस्था गरेको छ । हेरौं, ओली अब उक्त भोजमा जान्छन वा जाँदैनन् । त्यो त हेर्न बाँकी नै छ । यदि ओली सहभागी भए भने उनी निकै लामो समयपछि दुतावास छिर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्