Logo

भारतसँगको सम्बन्धमा ओलीको ‘आइसब्रेक’



दीपेश केसी, समाचार विश्लेषण । भारतसँग केही समय सम्बन्ध चिसिएपनि केपी शर्मा ओली मान्न तयार थिएनन् । उनले आफू कहिलेपनि भारतविरोधी नभएको भारतीय प्रतिनिधिसँगको भेटमा भन्ने गरेका थिए । संविधान निर्माण र नाकाबन्दीयता उनले लिएको नीति र सार्वजनिक गर्ने गरेको बोलीले सर्वसाधारणमाझ उनी भारतविरोधी राष्ट्रवादी कहलिएका थिए । पछिल्लो समय उनको भारतको विषयमा बोली बन्द भइसककेो छ । भित्र भित्र सम्बन्धले नयाँ मोड लिदै गर्दा ओलीको भारतसँगको सम्बन्धमा आइसब्रेक भइसकेको छ । यसको पुष्टि हप्ता दिनभित्र हुनेछ । उनको सम्भावित भारतीय राजदूतावास प्रवेश र भारतीय अधिकारीहरूसँग उनले गर्ने महत्वपूर्ण भेटघाटले तथ्यहरू बाहिर ल्याउन सक्छ ।

केपी शर्मा ओली कहिले भारतको विरोधी थिएनन् र हुने पनि छैनन् । उनको विगत भूमिकाहरू पल्टाएर हेर्ने हो भने भारतलाई लाभ हुने भूमिका खेलेका छन् । भारतसँग भएको महाकाली सन्धीमा उनले खेलेको मुख्य भूमिकाको इतिहास साक्षी छ । महाकाली सन्धीले उनको पार्टीलाई विभाजित बनाएको थियो । भारतसँगको सम्बन्धका लागि पार्टीलाई समेत जोखिममा पारेका ओलीलाई कसैले भारतविरोधी भन्छ भने त्यो कि भ्रमममा छ कि अञ्जान छ । भारतलाई दुरगामी नकारात्मक असर पार्ने काम पनि गरेका छैनन् ।

सम्बन्ध सुधारोन्मुख

ओलीको भारतीय संस्थापन पक्षसँग सम्बन्धमा सुधारमा मुख्य भूमिका खेलेका थिए उनका विश्वासपात्रहरूले । त्यसमाथि भारतीय राजदूतका रूपमा मञ्जिभ सिंह पुरी आएपछि सम्बन्ध सुधारको प्रयासले ठोस आकार लिएको थियो । ओली र पुरी दुवै रोमान्टिक स्वभावका हुन् । दुवैबीच पटक पटक भेटघाट समेत भएको छ । लामो समययता भारतीय राजदूतावास नछिरेका ओली लैनचौर नपस्ने पुरानै अडानमा रहे । भारतीय विदेशसचिव एस जयशंकर संविधान जारी मिति सार्न मनाउने मिसनका साथ नेपाल आउँदा विमानस्थलबाट सिधै बालकोट पुगेका थिए । उक्त भेटबाट ओली भारतीय पक्षसँग असन्तुष्ट भएका थिए । प्रधानमन्त्रीका रूपमा भारत भ्रमण गर्दा समेत ओलीको सम्बन्ध सुधारिएन ।

प्रधानमन्त्रीका रूपमा भारत पुग्दा नेपालको संविधान भारतद्वारा स्वागत हुनुपर्ने अडान राखिरहे । नाकाबन्दीको विषय समेत उठाए । ओलीले संविधानको स्वागतको शब्दावली नराखेसम्म दुवै देशका प्रधानमन्त्रीहरूको संयुक्त वक्तव्यमा हस्ताक्षर गर्न मानेनन् । जसका कारण भ्रमणले भारतको संविधान संशोधनपछि मात्र स्वागत गर्ने अडानमा आइसब्रेक गर्न सकेन । ओलीले पनि भारतीय संस्थापन पक्षसँग दुरी बढाए । राजदूतावाससँग उनको दूरी झन् बढ्यो । यसपटक मञ्जिभ सिंह पुरीले ओलीको अडानमा आइसब्रेक गराउने भएका छन् । ओली दूतावास प्रवेश गर्ने सम्भावना रहेको छ । पुरीले ओलीलाई आफै बालकोट पुगेर निम्तो दिएका थिए । यति कारणले मात्र ओली सकारात्मक बनेका होइनन् । भारतीय पक्षको लामो प्रयास र सम्बन्ध सुधारको पहलका साथै ओलीको पनि भारतसँग सहमतिमा पुग्ने निष्कर्षले नयाँ मोड लिएको हो । सुष्मा स्वराजको हुनलागेको नेपाल भ्रमणमा सम्बन्ध सुधारबारे गम्भीर छलफल हुनसक्छ ।

ओली फकाउने रणनीति

भारत र चीनबीच पछिल्लो समय तनाव बढेको छ । दोक्लम क्षेत्रमा दुई देशको सैनिक परिचालन बढाइएको छ । यही परिवेशमा चीनले दक्षिण एशियाका छिमेकका शक्तिसँग भेटघाट तिव्र पारिरहेको छ । भारतसँग चिढिएका ओलीले यसै महिना चीन भ्रमण गरे । भारतसँग दूरी बढेपछि ओलीले चीनसँग निकटता बढाएका थिए । कुनैबेलाका आफ्ना हितैषी ओली टाढिएको विषयलाई दिल्लीमा समेत गम्भीरताका साथ लिइएको थियो । भारतीय जानकारहरूले दक्षिण एशियामा चीनको प्रभाव बढ्दै गएको यथार्थलाई उठान गरिरहेका थिए ।

भारतभित्र विपक्षीले मोदीले छिमेकका मित्रहरूलाई समेत चिढ्याउँदा तेस्रो शक्तिले प्रभाव बढाएको भन्दै आलोचना गरिरहेका थिए । विशेषगरी नाकाबन्दी पछि विकसित घटनाक्रमलाई कँग्रेस आई देखि भारतीय वामपन्थी नेताहरूले मोदीको असफल विदेश नीतिसँग जोडिरहेका थिए । विपक्षीले आरोप लगाइरहँदा भारत र चीनबीच सम्बन्ध चिसिने घटनाक्रम विकसित भए । चिनियाँ लगानी वृद्धि र सैन्य तहको सम्बन्ध नेपाल, भुटान, श्रीलंका, बङ्गलादेश र मालदिभ्समा समेत विकास भइरह्यो । पाकिस्तानसँग उसको सम्बन्ध झन् प्रगाढ बन्यो । पाकिस्तान शासित काश्मिरमा चिनियाँ कम्पनिले जलविद्युत आयोजनालगायत ठूलो परियोजना निर्माण गरिरहेको छ ।

चीनले दक्षिण एशियामा उपस्थिति बढाइरहँदा भारत सामु छिमेको शक्तिलाई पेलेर नभई समन्वय गरी जाने वाध्यकारी अवस्था बन्यो । यही वाध्यकारी अवस्थाको उपज होला भारतले चीनतर्फ नजिकिदै गएका ओलीलाई पुनः नजिक्याउन खोजेको छ । त्यसमाथि दुई चरणको स्थानीय चुनावमा ओली नेतृत्वको दल नेकपा एमालेले सत्ता बाहिर रहेर पनि पहिलो स्थान हासिल गरिसकेको छ । अबको केही महिनाभित्र प्रदेश र संसदको चुनाव हुनेछ । चुनावमा पकड बनाउनसक्ने शक्तिलाई नजिक्याउन भारत जस्तो क्षेत्रीय शक्ति लाग्नु स्वभाविक हो ।

राष्ट्रवादीको मापदण्ड के ?

नेपालमा छिमेकको विरोधलाई राष्ट्रवाद मान्ने प्रवृत्ति हावी छ । राजा महेन्द्र र मरिचमान श्रेष्ठलाई राष्ट्रवादी मान्नेहरू पनि छन् । कतिपयका दृष्टिमा उनीहरू ‘राष्ट्रवादी’ हुनुको मुख्य मापन छिमेकी भारतसँग जोरी खोज्नु नै हो । केपी शर्मा ओलीले पनि भारतसँग केही समय जोरी खोजे । नाकाबन्दीको खुलेर विरोध गर्दै यस मामलामा भारततर्फ औंला उठाए । ओलीले छिमेकबाट भएको नकारात्मक कार्यको खुलेर विरोध गरे । तर, यसको कुटनीतिक समाधानमा सार्थक भूमिका निभाउन सकेनन् । ओली बढी बोले काम कम गरे । नेपाली जनताले दुःख पाइरहे । यसमा दक्षिणको गल्ती मात्र थिएनन् नेताहरूको अपरिपक्व कुटनीति पनि कारण थियो जसमा ओली मुख्य थिए । नाकाबन्दीले भारतलाई पनि घाटा पुगेको पछिल्ला घटनाक्रमले देखाएको छ । यद्यपि, भारतीय पक्षले यसमा आफ्नो भूमिका स्वीकार्दैन । नाकाबन्दीको दोषको भारी मधेशवादी दाबी गर्ने राजेन्द्र महतोहरूले बोकेका छँदैछन् ।

राष्ट्रवादी छवि बनाएका ओली लैनचौर फेरि पस्न थालेपछि आउने प्रतिक्रियाको आँकलन गर्न कठिन छैन । भारतसँग जोरी खोजेरै चल्नुपर्छ बरु देश पछि परिरहोस् र जनताले दुःख पाइरहुन् भन्ने मानसिकताका कुलिन र केही मध्यमवर्गहरूको जमात शासनसत्ताको वरिपरि छन् । तिनले ओलीको सत्तोसराप गर्न बेर छैन । देशको नेताले छिमेकसँग आवश्कता अनुसारको निकटता बढाएर राष्ट्रहितमा काम गर्ने हो । त्यसमाथि भारत र चीनजस्ता शक्तिशाली देशको बीचमा रहेको नेपालको भूराजनीतिक संवेदनशीलतालाई गहिरिएर मनन गर्नुपर्छ । नेताले भीडको भाषा बोल्ने होइन देशको चाहना अनुसार छिमेकसँग सम्बन्ध गाँस्ने हो । ओलीले राष्ट्रवादी कहलिन विगतमा जे जस्तो गरे त्यसले देशलाई कति फाइदा या घाटा पु¥यायो अध्ययन हुनुपर्छ । अब उनी छिमेकसँग हातेमालो गरेर बढ्दा देशलाई के कस्तो लाभ मिल्छ त्यसको पनि अध्ययन हुनुपर्छ ।

देशको हित गर्ने र जनतालाई सुखी बनाउने नेता सच्चा राष्ट्रवादी हुन्छ न कि कुनै देश विशेषको विरोध गरेर चर्चा बटुल्ने नेता । ओली त्यतिबेला सच्चा राष्ट्रवादी हुनेछन् जतिबेला नेपालको भूराजनीतिक संवेदनशीलता बुझेर दुवै छिमेकसँग हातेमालो गर्दै देशमा समृद्धी र दीगो शान्ति स्थापित गर्न भूमिका निभाउन सक्छन् । भीडको ताली खान बकबक बोलेर मात्र राष्ट्रवादी भइन्न । देशको लागि कण्ठमा विष राखेर काम गर्न तयार हुनुपर्छ । गाली खाएर भएपनि देशको हितमा काम गर्न जोखिम मोल्न तयार हुनुपर्छ । गफको राष्ट्रवादी होइन कामको राष्ट्रवादी बन्न छिमेकलाई नेपालको हितमा ढाल्नसक्ने खूबी चाहिन्छ । ओलीले देशको हितमा काम गर्ने हो भने आवश्यक पर्दा दिल्ली पनि जानुपर्छ बेइजिङ्ग पनि जानुपर्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot