Logo

देउवा जम्बो मन्त्रिमण्डल बनाउँदै, राप्रपा प्रजातान्त्रिकलाई दुई मन्त्रालय दिने तयारी,



कांग्रेस र माओवादीले राज्यमन्त्रीपनि थप्ने
काठमाडौं, २४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै तेस्रो पटक सरकार विस्तार गर्ने तयारी गरेका छन् । स्रोतका अनुसार देउवाले पशुपतिशमशेर जबरा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)लाई सहभागी गराएर तेस्रो पटक सरकार विस्तारको तयारी गरेका छन् ।

देउवाले राप्रपा प्रजातान्त्रिकबाट दुई जनालाई सरकारमा सहभागी गराउने र कांग्रेस र माओवादी केन्द्रबाट राज्यमन्त्री नियुक्ती गर्ने तयारी गरेका छन् । स्रोतका अनुसार देउवाले अब मन्त्रिमण्डको संख्या ४० पुर्याउने बुझिएको छ । अहिले २७ सदस्यीय मन्त्रिमण्डल रहेको छ । तर राप्रपा प्रजातान्त्रिक अध्यक्ष पशुपतिशमशेर राणाले भने तीन वटा मन्त्रालय दिनुपर्ने माँग गरेका छन् । तीन वटा मन्त्रालय दिएमात्रै सरकारमा सहभागी हुने राणाले प्रधानमन्त्रीलाई बचन दिएका छन् ।

यसअघि देउवाले नेपाली कांग्रेससहित चार दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका थिए । दोस्रो पटक मन्त्रिमपरिषद विस्तारमा कांग्रेसबाट १०, माओवादीबाट ६, फोरम लोकतान्त्रिकबाट २ र नेकपा संयुक्तबाट एक मन्त्री बनेका थिए । यससँगै देउवा सरकार तीन उप्रधानमन्त्रीसहित २७ सदस्यीय भएको थियो । सञ्चार मन्त्रालयमा मोहनबहादुर बस्नेत मन्त्री हुनुभएको छ । नेपाली कांग्रेसबाट मन्त्री हुनेहरुमा वीरबहादुर बलायर, अम्बिका बस्नेत, महेन्द्र यादव र मीन विश्वकर्मा छन् ।

बलायरले भौतिक पूर्वाधार, बस्नेतले सहकारी तथा गरीबी निवारण, यादवले खानेपानी र विश्वकर्माले वाणिज्य मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ ।

यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट रामकृष्ण यादव, यज्ञबहादुर थापा, सञ्जय गौतम र राजन केसी मन्त्री भएका छन् । यादवले कृषि, थापाले कानुन, गौतमले सिचाई र केसीले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल स्वास्थ्य मन्त्री, महेन्द्रबहादुर शाही ऊर्जा मन्त्री, टेकबहादुर बस्नेत सामान्य प्रशासन, शिवकुमार मण्डल आपूर्तिमन्त्री बन्नुभएको छ । यस्तै, सन्तकुमार थारु चौधरी पशुपन्छी विकास तथा आशा खनाल कोइराला महिला तथा बालबालिका मन्त्री बन्नुभएको छ । थपिएका मन्त्रीहरुले आजै राष्ट्रपति भवन शितल निवासमा शपथ ग्रहण गर्नुभएको छ ।

त्यस्तै देउवाले छिट्टै कांग्रेस र माओवादी केन्द्रबाट राज्यमन्त्रीहरुपनि नियुक्त गर्ने तयारी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्